काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व र थरुहट–थारुवान अभियन्ताबीच समायोजन भएको छ । पौष २१ गते काठमाडौंको सभागृहमा आयोजित कार्यक्रममा बृहत समायोजन सम्वन्धी घोषणा गरिएको थियो । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट–थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदार पण्डित र थरुहट–थारुवानका अभियन्ता सुरेन्द्र चौधरीले समायोजन पत्रमा हस्ताक्षर गरेका थिए ।
सभामा ९ बँुदे सहमति भएको छ । जसमध्य पहिलो बँुदामा भदौमा भएको जेनजी आन्दोलनको अपनत्व लिदैँ समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यन्वयनप्रति समर्पित हुने उल्लेख गरिएको छ । दोस्रो बँुदामा भने, बृहत समायोजन पछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा र चुनाव चिन्हपनि रास्वपाकै रहने बताइएको छ ।
तेस्रो बँुदामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई आत्मसात गदै थारुहरुको धार्मिक र सांस्कृतिक प्रणालीको संरक्षण र प्रर्वधन गर्ने नियम कानुन निर्माण गर्ने भनिएको छ । पाचौँ बुँदामा टीकापूर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्विकारका साथै, सरकार निर्माण भएपछि शान्ति–सुरक्षा सँग सम्बन्धित सिफारिहरु कार्यन्वयन गर्ने बताइएको छ ।
बँुदा ६ मा भने निजामती, न्यायिक, प्रहरी लगायत सेवामा तोकिए अनुरुप थारुहरुको आरक्षण पूर्णतः लागु गर्ने उल्लेख गरिएको छ । सातौँ बुँदामा भने, पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयामहरु सर्वदलीय राजनीतिक सहमतिका लागि पहल गर्ने बताइएको छ । आठौँ वँुदामा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व र थरुहट–थारुवान अभियन्ताहरु पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्ने भनिएको छ । र अन्त्मि बँुदामा राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने भनिएको छ ।
कार्यक्रममा सभापति रवि लामिछानेले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरेका थिए । उनले भने, ‘हामीले विभिन्न आरोपहरु खेपेका छौं । कतिपयले पपुलिष्टहरु मिले । यिनीहरुमा राजनीतिक परिपक्कता छैन भनेको पनि सुन्नु परेको छ । हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस् । हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं ।’
त्यस्तै उनले पुराना राजनीतिक दलहरुलाई निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिन आग्रह गर्दै चलखेल र हात लम्काउने काम नगर्न सुझाए । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने बताउँदै उनले त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्ने धारणा राखे । ‘निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिनुहोस् । चलखेल नगर्नुहोस् । हात लम्काउने चम्काउने नगर्नुहोस् । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने छन् । त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्नु छ । त्यो इतिहासमा सक्नुहुन्छ भने योगदान दिनुहोस् । सक्नुहुन्न भने बिथोल्ने काम नगर्नुहोस्’ उनले भने ।
त्यस्तै, सभापति लामिछानेले पुराना राजनीतिक दलहरुले आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको बताए । पुराना दलले कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याएको उनको भनाई छ । उनले भने, ‘पुराना राजनीतिक दलहरुले यता कता आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखेको छु । उहाँहरुलाई म वितम्रतापूर्वक भन्न चाहान्छु । स्वीकार्नु होस् । आफ्नो असक्षमतालाई स्वीकार्नुहोस् । तपाईहरुले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनुभयो । अब थप जोडबल नगर्नुहोस् ।’
कार्यक्रममा भाषणसँगै नाचगान र संस्कृतिक प्रस्तुती पनि भएका थिए । शीर्ष नेताहरूले समायोजन पत्रमा हस्ताक्षर पछि घन्टि बजाएर समायोजनको स्वागत गरेका थिए ।




