सुर्खेत । गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठि कार्यक्रम सञ्चालन गरिएकाे थियाे । कार्यक्रममा गृहमन्त्री प्रमूख अतिथि र मुख्यमन्त्री बिशेष अतिथि रहेका थिए । मञ्च एउटै बिषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ? भनि प्रश्न गरे ।
कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रमुख काम निर्वाचन सफलतापूर्वक कार्यान्वयन गर्नु रहेको भन्दै निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र भय–रहित रूपमा निर्वाचन सम्पन्न सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे । ‘जेनजी आन्दोलनको बलमा बनेको यो सरकारका लागि घोषित मितिमा निर्वाचन गर्नु प्रमुख कार्यभार हो’ उनले भने, ‘मौसम प्रतिकुलताका कारण एकाध स्थानमा निर्वाचन हुन नसके पनि सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरिरहेको छ । चुनावका लागि राजनीतिक दलहरु पनि क्रमिक रुपमा तयारीमा लागेको गृहमन्त्रीको भनाई छ । उनले भने, ‘युवा पुस्तालाई दलहरुमा सहभागि गराउनेतर्फ पनि दलहरुले प्रयास गरिरहेकै छन् ।’ जेनजी पुस्ताको मागहरु सम्बोधन गरेरै मुलुकमा सुशासन कायम गर्नुपर्ने उनको भनाई छ । जेनजी पुस्ताको मागका सम्बन्धमा सरकारबीच भएको सम्झौता अनुसार अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
सोही कार्यक्रममा बोल्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले प्रमुख राजनीतिक दलहरुलाई पाखा राख्ने निर्वाचन गराउने सोच सरकारलाई त्याग्न सुझाव दिए । ‘निर्वाचनको विषयमा थुप्रै संशयहरु उत्पन्न भएका छन्’ मुख्यमन्त्री कँडेलले भने, ‘दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बनाउन सकिन्छ । दलहरुलाई पाखा लगाएर निर्वाचन गर्न सकिने अवस्था रहँदैन ।’ सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण तयार नभएको उनको भनाई छ । भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षाको प्रत्याभूति हुनु प्रमुख विषय भएको भन्दै वर्तमान सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेको उनले बताए । सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको भन्दै उनले निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानबाट मुक्त हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश प्रमुख सचिव वीरेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक टेकेन्द्र कार्की, र पृतनापति उपरथी दीपेशजंग थापा लगायतको उपस्थिति रहेको थियो । गोष्ठिमा कर्णालीको विशिष्ट सुरक्षा चुनौती विश्लेषण गरी रणनीति तयार गरिने जनाइएको छ ।




