काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ । उनीहरुले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन आन्दोलन सुरु गरेका हुन् ।
राजीनामा माग गर्दै प्रदर्शनका क्रममा नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने उल्लेख गरे ।
ढुंगानाले देशलाई निकास नदिई,जेनजीको माग पूरा नगरी निर्वाचन गर्नुको कुनै औचित्य नरहेको बताए । आन्दोलनमा डा.निकोलस भूसालको समूह पनि सहभागिता रहेको छ । प्रदर्शनका क्रममा भुसाललगायत केही जेनजीहरूलाई पनि प्रहरीले नियन्त्रणमा समेत लिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने नाराका साथ आन्दोलनकारीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग अघि सारेका छन् ।




