काठमाडौं । स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानसिक सन्ताप बढ्दै गएको भन्दै ध्यान र योगको आवश्यकता झन् बढेको बताएका छन् । आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले विकसित राष्ट्रहरूमा मानसिक समस्या गम्भीर बन्दै गएको उल्लेख गरे ।
उनले भने, ‘मैंले देखिरहेको छु, जुन राष्ट्र आर्थिक रूपमा जति समृद्ध हुन्छ, त्यति नै मानसिक सन्ताप बढिरहेको छ । त्यसैले युरोप र अमेरिकामा ध्यानको आवश्यकता अझ बढी छ ।’ ती देशहरूमा नेपालीहरूले ध्यान अभियान सञ्चालन गरिरहेकोप्रति उनले गर्व गरे ।
स्वामी अरुणका अनुसार हाल विश्वका ६० देशका व्यक्तिहरू नेपाल आएर ध्यानको प्रशिक्षण लिइरहेका छन् । ‘उहाँहरू प्रत्येक वर्ष यहाँ आएर प्रशिक्षक बनेर आफ्ना–आफ्ना देशमा ध्यान सिकाइरहनुभएको छ,’ उनले भने । अप्रत्यक्ष तपोवनमार्फत हाल ९० वटा केन्द्रबाट ध्यान र योगको प्रचार–प्रसार भइरहेको उनले जानकारी दिए ।
उनले ध्यान, योग र प्राकृतिक उपचार क्षेत्रमा नेपाल सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । यस सन्दर्भमा उनले नेपाल सरकारसमक्ष तीनवटा मुख्य आग्रहसमेत राखे । स्वामी अरुणले योग, ध्यान, प्राकृतिक उपचार, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिहरू हेर्ने छुट्टै मन्त्रालय नै नरहेकोप्रति चिन्ता व्यक्त गरे ।
‘योग, ध्यान, प्राकृतिक उपचार, आयुर्वेद अल्टनेट मेडिसिनका अनेक उपाय छन् यसलाई हेर्ने कुनै मन्त्रालय नै छैन । स्वास्थ्यमा हुने खर्च सबै एलोप्याथीमा मात्रै भइरहेको छ । हाम्रो आफ्नो उपचारको तिब्बती प्रद्धती छ, आफ्नै पनि प्रद्धती छ । त्यसको सम्बर्धन कसले गर्ने त्यसको लागि राज्य नै छैन,’ उनले भने ।
भारतमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका लागि छुट्टै मन्त्रालय स्थापना गरिएको उदाहरण दिँदै उनले नेपालमा पनि यस्तै संरचना आवश्यक रहेको बताए । ‘भारतले मन्त्रालय बनाएर राखे झैं नेपाल सरकारसँग आग्रह एउटा अभिभावक हामीलाई पनि दिनुहोस । हामी कहाँ जाने ? कहिले शिक्षा मन्त्रालय जानुपर्छ, कहिले स्वास्थ्य मन्त्रालय जानुपर्छ कहिले अर्थमन्त्रालय जानुपर्छ,’ उनले प्रश्न गरे ।
उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको संरचना विकासका लागि छुट्टै मन्त्रालय स्थापना गर्न नेपाल सरकारसँग आग्रह गर्दै भने, ‘जहाँ गएर हामीले आफ्ना गुनासा पोख्न सकौं । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ध्यानका लागि कक्ष निर्माण गर्नुपर्ने बताए ।




