२१ जेष्ठ २०८३, बिहीबार

उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्ने र पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जनासम्म हुने गरी अनिवार्य रुपले सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार समानुपातिक तर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तिमा ३ जना पुरूष र ३ जना महिला जातीय कलष्टर अनुसार समावेशी हुनेगरी प्रदेश समितिमा पुस १ गते भित्र पठाउने र प्रदेश समितिले उक्त नामावली माथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारहरूको नाम सिफारिस गरी पुस ५ गते भित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुुझाई सक्नुपर्ने छ । कुनै कारणवस तोकिएको निर्धारित समयभित्र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष÷समानुपातिक तर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डलाई प्राप्त नभएमा वा हुन नसकेमा संसदीय बोर्डले नै उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्न सक्ने बस्नेतको भनाइ छ ।

संघीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरू बैठकको निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गरी पठाउनुपर्ने बताइएको छ ।

उनले भने, ‘पार्टी विधानको धारा–११७ उपधारा (३) बमोजिम योग्यता पूरा गरेका कुनैपनि संगठीत पार्टी सदस्यले प्रत्यक्ष तर्फ वा समानुपातिकतर्फ उम्मेदवार हुन चाहेमा सोझै केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा उम्मेदवार हुन आवेदन दिनसक्ने छ । यसरी आएका आवेदन उपर संघीय संसदीय बोर्डले सम्बन्धीत जिल्ला र प्रदेश समितिसँग राय परामर्श गरी आवश्यक निर्णय लिन सक्नेछ ।’ उम्मेदवारहरूको अन्तिम निर्णय संघीय संसदीय बोर्डले नै गर्ने बताइएको छ ।



Author: Editor1

Nepal News Bank

Independent News & Insights

We bring fact-checked national & international coverage with a focus on clarity and context.

Contact

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री