बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय अनुसार हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जानकारी दिएकाे छ ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिइएको छैन । हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने कुनैपनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हाे ।




