भारतमा फेरि बढेको कोभिड संक्रमणले के संकेत गर्छ ?

काठमाडौँ । भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका हुन् ।

अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ । यसलाई कोरोनाको चौथो लहरको संकेत रुपमा लिन थालिएको छ ।

भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो । स्थिति सामान्य भएको दुई महिना नबित्दै सातायता संक्रमितको संख्या ह्वात्तै बढेको छ । दिल्ली, हरियाणा, उत्तरप्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितहरूको संख्या तीव्र रूपमा बढ्न थालेको हो ।

नेपालको अवस्था कस्तो ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ७७ जनाको नमुना परीक्षण गर्दा थप १३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ३१८ छ ।

गत हप्ता कोभिडको दोस्रो लहरपश्चात् पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कममा झरेको मन्त्रायलका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनकाअनुसार खोप अभियान शुरु भएपश्चात् नेपालमा ४ करोड ६ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको र ८२.२ प्रतिशतले पूर्ण मात्रा लगाइएको छ ।

सरकारको तयारी के छ ?
नेपालमा देखा परेका तीन वटै लहर भारतमा नयाँ लहर शुरु भएको केही सातापछि सुरु भएका थिए । पछिल्लो समय कोभिडको तेस्रो लहर सुस्ताएसँगै देशैभर कडा प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ र सार्वजनिक स्थलहरूमा भिडभाड बढेको छ ।

तर स्वास्थ्य मन्त्रालयले सङ्क्रमण दर घटेको भए पनि जोखिम कम नभएको बताउँदै आएको छ । छिमेकी मुलुकहरूमा सङ्क्रमण बढ्दै जानुको अर्थ नेपालका लागि पनि ठूलो चेतावनी रहेको सहप्रवक्ता अधिकारी बताउँछन् । ‘विगतका तीन वटा लहर हामीले भोग्दा फेरि विशेषगरी भारतमा सङ्क्रमण बढेको केही हप्तामा त्यस्तै अवस्था हामीले भोगेका छौँ,’ उनले भने, ‘अहिले पनि भारतमा सङ्क्रमण बढ्दै गरेको प्रारम्भिक थ्यांक आइरहेका छन् त्यसले हामीलाई चिन्तित बनाउँछ ।’

नेपालमा पनि लिनुपर्ने सावधानी र विगतको सिकाइ सँगसँगै सङ्क्रमणको प्रकृति पनि हेरेर निगरानी बढाउनुपर्ने उनी बताउँछन् । कोभिडको तेस्रो लहर सुस्ताएको अवस्थामा नेपाल-भारतबीच आवागमनको अवस्था पनि महामारी अघिकै अवस्थामा पुगेको छ । यसले गर्दामा नेपालमा जोमिम रहेको स्वास्थ्य विज्ञहरुको चेतावनी छ ।

खासगरी दिल्लीसहित भारतका विभिन्न सहरहरूमा सङ्क्रमण बढ्नु नेपालका लागि जोखिमको संकेत भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनको भनाई छ । तर कोभिडको पहिलो र दोस्रो लहरको तुलनामा अवस्थामा निकै फरक आएको उनी बताउँछन् । ‘अहिले धेरैले खोप लगाइसकेको अवस्था छ । लक्षणसहित वा लक्षणविना धेरै जना एक पटकभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको पनि होला,’ उनी भन्छन्, ‘त्यसैले यो पटक सङ्क्रमण धेरै जोखिमपूर्ण नहुन सक्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस