कोभिड खोप प्रयोगको एक वर्ष पूरा : लक्षित जनसंख्याको ६९ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौँ । नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष पूरा भएको छ । संक्रमण फैलिएको झण्डै एक वर्षपछि ८ माघ ०७७ मा भारतबाट आएको खोप १४ माघबाट प्रयोगमा ल्याइएको थियो । खोप अभियान सुरु भएको पहिलो दिन नौ हजार ८४ जनाले मात्र खोप लगाएका थिए । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाउने लक्ष्यसहित ६६ जिल्लाका करिब १२० खोप केन्द्र तोकिएको थियो ।

खोप उत्पादन गरिरहेका देशहरूबाहेक खोप प्रयोगमा अगाडि रहेको नेपालमा हालसम्म लक्षित जनसंख्याको ६९.४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । त्यस्तै, खोपको एक मात्रा लगाउनेको संख्या ८२.७ प्रतिशत पुगेको छ भने अग्रपंक्तिमा खटिने झन्डै तीन लाख कर्मचारीमा अतिरिक्त खोपसमेत प्रयोगमा आइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शुक्रबारसम्म एक करोड ३८ लाख ३३ हजार ६ सय २९ ले खोपको पूणर् मात्रा लगाएका छन् भने एक करोड ६४ लाख ७४ हजार पाँच सय १४ ले कम्तीमा एक मात्रा लगाएका छन् ।

त्यस्तै, २ माघदेखि सुरु भएको अतिरिक्त मात्रा खोप दुई लाख ९६ हजार नौजनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका १८ लाख ७२ हजार ६ सय ७० जना बालबालिकाले खोपको पहिलो मात्रा र तीन लाख ५८ हजार दुई सय ९८ जना बालबालिकाले पूर्ण मात्रा लगाएका छन् ।

हालसम्म अनुदान र खरिद प्रक्रियाबाट चार करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप नेपाल भित्रिसकेको छ । संक्रमण बढ्दै जाँदा खोप कार्यक्रमलाई समेत तीव्रता दिइएको छ । हाल लक्षित समूहका ३४ लाखलाई खोप लगाउन बाँकी छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप लगाउँदा दोस्रो र तेस्रो लहरमा सम्भावित जोखिम कम भएको बताएका छन् । खोप लगाउन बाँकी नागरिकलाई पनि खोप लगाउन उनको आग्रह छ । –नयाँ पत्रिका दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस