राष्ट्रियसभाका १९ सदस्यका लागि आज मतदान, सबै प्रदेशमा गठबन्धन अगाडि

काठमाडाैँ । राष्ट्रियसभा सदस्यको लागि निर्वाचन आज हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो ।

निर्वाचन आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एकएक मतदानस्थलभित्र दुई/दुई वटा मतदान केन्द्र बनाएको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखले प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।

प्रदेश २ मा महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदान हुँदैछ ।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो । राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन् । चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ । राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ ।

सबै प्रदेशमा गठबन्धन अगाडि
राष्ट्रियसभा सदस्य निर्वाचनमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । तर, सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै मात्रै फरक छ ।

महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ । आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस