साहित्यकार तथा पत्रकारहरूद्वारा पनाैतीमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन

साहित्यिक पत्रकार संघ र ॐ आदि फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार काभ्रेको पनौतीस्थित कुशादेवीमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चालिसभन्दा बढी साहित्यकार एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै ॐ आदि फाउन्डेसनका संयोजक क्याप्टेन रामेश्वर थापाले बालगुरु आदित्यबाट युग परिवर्तनका लागि मानव जगतलाई चेतना फैलाउने काम भएको बताए । गुरु आदित्यबाट विना हिंसा युग परिवर्तन सम्भव रहेको र आध्यात्मिक चेतको संचार सबैमा हुनु पर्छ भन्ने ज्ञान प्रदान भएको थापाले प्रष्ट पारे।

कार्यक्रममा ॐ आदि फाउन्डेसनका वरिष्ठ सल्लाहकार लक्ष्मी प्रसाईंले कुशादेवीमा आदित्य मोक्षधाम निर्माण हुनु पर्ने कारण, यसको उपादेयता र महत्वमाथि प्रकाश पारेका थिए। आदित्य चमत्कारिक बालगुरु भएको र उनका उपदेश सबैका लागि मार्गदर्शन हुने उनको भनाइ थियो । उनले आफूले गुरु आदित्यसँग २०७१ सालमा साक्षात्कार गर्न पाएको र गुरुकै निर्देशनमा शान्ति र प्रेमको सन्देश दिनका लागि निर्माण थालिएको बताए । उनका अनुसार यहाँ ३६ फिट अग्लो स्तम्भ निर्माण हुनेछ । प्रसाईंले वरिष्ठ इन्जिनियर डा. संगिता सिंहको टिमले धाम निर्माणको काम गरिरहेको जानकारी पनि दिए ।

कार्यक्रममा पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पनौती आफैंमा पवित्रधाम भएकोमा आदित्य मोक्षधामको निर्माणपछि यो आध्यात्मिक गन्तव्य हुने उल्लेख गर्दै नगरपालिकाले सक्ने सबै सहयोग गर्ने बताए । उनले माघ १ गतेदेखि पनौतीमा हुने मकरमेलामा आउन सबैलाई निमन्त्रणा पनि गरेका थिए ।

आदित्य मोक्षधाम बालगुरु आदित्यकै निर्देशनमा निर्माण हुन लागेको र यसका लागि साढे पाँच अर्बको लागत लाग्ने कार्यक्रममा कोषाध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार यहाँ अहिले २ करोड ६ लाख खर्च भइसकेको छ ।

कार्यक्रममा साहित्यक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम जरुरी रहेको र यसका लागि साहित्यिक पत्रकार संघ सधैं तयार रहेको बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, वरिष्ठ समालोचक प्रमोद प्रधान, प्रा.डा. गार्गी शर्मा, वरिष्ठ नियात्राकारहरु रामप्रसाद पन्त र युवराज नयाँघरे, अनेसासका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, पत्रकार एवं साहित्यकार डा. दामोदर पुडासैनी र वरिष्ठ समाजसेवी राजेन्द्रबहादुर श्रेष्ठलगायतले आआफ्नो मन्तव्य राखेका थिए । उनीहरुले आदित्य मोक्षधाम निर्माणमा सबैको सहयोग जरुरी भएको बताएका थिए ।

कार्यक्रममा उपस्थितहरुले बालगुरु आदित्यका उपदेशहरु वाचन गरेका थिए भने कविहरु हिरण्यकुमारी पाठक, कल्पना खरेल, नीता श्रेष्ठ र पारु तिमिल्सिनाले गुरु विषयक विभिन्न रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा प्रा.डा. सावित्री मल्ल, सुलोचना मानन्धर, मणि लोहनी, ठाकुर बेलबासे, दिव्य गिरि, मुरारी सिग्देल, प्रद्युम्न जोशी, शशी थापा पण्डित, ज्ञानमणि नेपाल कालाेटाेपी, तारा के.सी., नीरु श्रेष्ठ, ललिता सिग्देल, शान्ति सापकोटा, उमेश पाण्डे, इलु शर्मा, बुनु श्रेष्ठ, भगिरथ काफ्ले, कमला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस