कांग्रेसको मतगणना सकिँदै, पहिलो बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । गएको मङ्सिर २४ गतेदेखि काठमाडौँमा शुरु भएको महाधिवेशनमा मङ्सिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो । नयाँ नेतृत्व चयनका लागि चुनाव भएको ११ औँ दिनमा मतगणना सकिन लागेको हो ।

मतदान लगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना थालिएको थियो । मतगणनाको काम अन्तिम चरणमा पुगेको र आज सकिने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।

मत गणना बाँकी रहेकोमा केन्द्रीय सदस्यतर्फ खस/आर्य, आदिवासी/जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा पुगेको छ । कांग्रेस विधानमा १३ जना पदाधिकारीमध्ये सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । त्यस्तै १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित एक सय ३४ सदस्य निर्वाचित हुने तथा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्ने व्यवस्था छ ।

मतगणना सकिएपछि भोलि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नेछ । केन्द्रीय कार्यसमितिको पहिलो बैठक पर्सी १० गते बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दलिततर्फ केन्द्रीय सदस्यमा नौमध्ये आठ देउवा समूहका विजयी
नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मत भने अझै सार्वजनिक गरेको छैन ।

खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल बाल्मीकी निर्वाचित भएका छन् । स्नेहीबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित सबै नयाँ अनुहार हुन् ।

दलिततर्फ चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । शान्ति र रुपा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । महिलातर्फ निर्वाचित चारै जना संस्थापन समूहका उम्मेदवार हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस