२० महिनापछि नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लोर उडान सुरू गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ।

कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो। महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण ०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिए। योसहित अब साविक बमोजिम भारतका तीनवटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछन्।

सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन। अध्यक्ष अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ। त्यसैगरी बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिबार र मङ्गलबार उडान हुनेछ। दुवै गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ।

काठमाडौँ–बैङ्लोर–काठमाडौँको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ। छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउने गरेका छन्। नेपाल एयरलाइन्सको नियमित उडान तथा उडान सङ्ख्या बढ्ने भएकाले अब नेपाल आउने भारतीय नागरिक बढ्ने अनुमान गरिएको छ। नेपाल एयरलाइन्सको बैङ्लोरकी स्टेसन म्यानेजर रीतादेवी राईले भारतबाट नेपाल आउन चाहने धेरैभन्दा धेरै धार्मिक यात्रु प्रतीक्षारत रहेको बताइन्। उनले एक दुई दिनभित्रै अग्रिम बुकिङ खुलाइने जानकारी दिइन्। बैङ्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेकाले यो गन्तव्यको व्यापार पनि राम्रो हुने म्यानेजर राईको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस