आँखा बचाउन यी हुन् केही उपयोगी टिप्स

आँखा मानव शरीरको अति संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो । हाम्रा दैनिक क्रियाकलापहरू प्रत्यक्ष रूपमा आँखा र दृष्टिसँग सम्बन्धित हुन्छन् । त्यसैले आँखालाई स्वस्थ र सुरक्षित राख्न आँखाको विशेष हेरचाह गर्नु आवश्यक हुन्छ । यसका लागि केही कुरामा ध्यान दिन जरुरी हुन्छ, जस्तै :-

डिजिटल स्क्रिनबाट आँखालाई बचाउने 
लामो समयसम्म कम्प्युटर, टिभी, ट्याब्लेट, स्मार्टफोन जस्ता सामग्रीका डिजिटल स्क्रिनमा हेरिरहँदा आँखालाई थकान हुने र आँखामा तनाव उत्पन्न हुने हुन्छ । यस्ता डिजिटल स्रोतहरूबाट आउने निलो प्रकाशले आँखामा क्षति पुर्‍याई दृष्टि नै गुम्न सक्ने जोखिम पनि हुन्छ । त्यसैले आँखाको हेरचाहका लागि २०–२०–२० नियम अपनाउनुपर्छ । यो नियमको अर्थ कुनै पनि डिजिटल स्क्रिनमा लगातार २० मिनेटसम्म हेरिसकेपछि स्क्रिनबाट आँखा हटाएर २० सेकेण्डसम्म २० फिट टाढा रहेको बस्तुलाई हेर्नुपर्छ ।

कम्प्युटर चलाउँदै गर्दा राम्रो ‘एर्गोनोमिक्स’ प्रयोग गर्नुपर्छ । डिजिटल स्क्रिनको अघि बसेर काम गर्दा कम्तीमा पनि २५ इन्चको दूरी कायम राख्नुपर्छ । स्क्रिनको चमक सकेसम्म कम बनाएर स्क्रिन हेर्नुपर्छ । त्यसका लागि स्क्रिन फिल्टर प्रयोग गर्न सकिन्छ ।

आँखालाई सूर्यको किरणबाट बचाउने
सूर्यबाट प्राप्त हुने हानिकारक पराबैजनी किरणले छाला पोल्ने, डढ्ने जस्ता समस्या हुन्छन् भन्नेबारे सबैलाई थाहा छ । धेरैलाई यो चाहीँ थाहा नहुन सक्छ की त्यस्तो किरण आँखाको लागि झन् धेरै घातक हुन सक्छ । आँखासम्बन्धी धेरै समस्या सूर्यबाट आउने हानिकारक पराबैजनी किरणले नै हुने गर्छ । आँखाको कोर्निया डढ्ने, मोतीबिन्दु, आँखामा दाग देखिने जस्ता समस्या सूर्यबाट आउने हानिकारक किरणको उपज हो । यस्तै, आईलिडको छालामा क्यान्सर समेत हुने सम्भावना हुन्छ ।

यी सबै आँखा सम्बन्धी रोग र समस्याबाट बच्न अनिवार्य रूपमा चस्मा लगाउन जरुरी हुन्छ । चस्माले सूर्यबाट आउने पराबैजनी किरणबाट आँखालाई शतप्रतिशत बचाउँछ । त्यसैले घरबाट बाहिर निस्किदा अनिवार्य रूपमा चस्मा लगाउनुपर्छ । बादल लागेको दिन छ भने पनि चस्मा लगाउन छुटाउनु हुँदैन । चस्मा किन्दा त्यसमा भएको सूर्यको विकिरण प्रतिरोधात्मक क्षमता भए नभएको पढेर मात्र किन्नुपर्छ । बजारमा कङ्क्रिट, बालुवा, हिउँ र पानीबाट प्रतिबिम्बित हुने किरण छेक्ने चस्मा पनि सुलभ दरमा उपलब्ध हुन्छ ।

घरमा र काममा आँखाको हेरचाह 
घर र घर बाहिरको कामका बेला आँखामा समस्या आउने सम्भावना हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनमा दैनिक २ हजार व्यक्ति कार्यालय र घर बाहिरको कामको सिलसिलामा आँखा बिरामी भएर उपचारको लागि अस्पताल जाने गरेको पाइएको थियो ।९० प्रतिशत आँखाको समस्याबाट चस्मा लगाएर वा अरू कुनै माध्यमबाट सुरक्षित गर्दा बच्न सकिने विज्ञहरुबताउँछन् । विभिन्न खेलकुद गतिविधिमा समावेश हुँदा अनिवार्य रूपमा चस्मा लगाउनुपर्छ । चस्मा छनोट गर्दा त्यसमा पोलीकार्बोनेट लेन्स राख्नुपर्छ गर्नुपर्छ । यस्तो लेन्समा विकिरण प्रतिरोधात्मक क्षमता उच्च हुन्छ ।

आँखालाई पोषणयुक्त खाना 
शरीरको रक्तसञ्चार र मुटुको लागि फाइदा पुर्‍याउने पोषणयुक्त खाना खानु आँखाको लागि पनि राम्रो हुन्छ । अन्नसहितको प्रशस्त खाद्यपदार्थ, गाढा हरियो रङको तरकारी र सागपात, फलफूल खानु अति आवश्यक हुन्छ । जिङ्क, बिटा क्यारोटीन जस्ता पोषक तत्त्वले आँखाको ज्योति राम्रो बनाउन सहयोग गर्छ । यसले बढ्दो उमेरसँगै देखा पर्ने आँखा र ज्योतीसम्बन्धि समस्या हुन नदिने काम गर्छ । पोल्ट्री उत्पादन, बोसोरहित सेतो मासु, दलहन, बदाम र केराउबाट प्रशस्त मात्रामा जिङ्क प्राप्त गर्न सकिन्छ । बिटा क्यारोटीन पहेँलो र सुन्तला रङको तरकारी र फलफूलबाट प्राप्त हुन्छ । हाम्रो शरीरमा रहेको भिटामिन ए आँखाको ज्योतिको पाइँदामा परिणत हुन्छ । त्यस्तै हरियो सागपात खानु प्रत्यक्ष रूपमा स्वस्थ आँखासँग जोडिन्छ । हरियो मकै, हरियो केराउ, ब्रोकाउली र अण्डा पनि आँखाको लागि राम्रो खानेकुरा हो । चिकित्सकसँग आफ्नो आँखालाई दैनिक चाहिने पोषणबारे सल्लाह गरेर खाना खान सकिन्छ ।

मेकअपमा सावधानी 
तरल र क्रिमी मेकअपले आँखामा ब्याक्टेरिया जम्मा हुन्छ । प्रत्येक ३ महिनामा आँखाको मेकअप र मस्कारा परिवर्तन गर्नुपर्छ । यदि आँखाको मेकअपले इन्फेक्सन भयो भने तुरुन्तै मेकअप पखालेर चिकित्सकलाई आँखा देखाउनुपर्छ । अरू व्यक्तिसँग मेकअपको सामग्री सेयर गर्नुहुँदैन र स्टोरमा नमुनाको लागि राखिएको मेकअप सामग्री प्रयोग गर्नुहुँदैन । यदि आँखाको एलर्जीको समस्या छ भने हाइपोएलर्जेनिक उत्पादन प्रयोग गर्नुपर्छ । एलर्जी नहुने एउटै ब्राण्डको प्रयोग गरिरहन सकिन्छ तर पुरानो हुनुहुँदैन । त्यस्तै मेकअप गर्नुअघि राम्रोसँग आँखा सफा गर्नुपर्छ र राती सुत्ने बेलामा पखालेर सुत्नुपर्छ ।

आँखासँग अन्य रोगको सम्बन्ध 
सामान्यतया स्वास्थ्य सम्बन्धी अन्य अवस्था आँखालाई प्रभाव पार्ने हुँदैन । तर मधुमेह र उच्च रक्तचापले शरीरमा रक्त प्रवाहको अवस्थालाई परिवर्तन गराउँछ जसले गर्दा आँखाको रक्त प्रवाह पनि क्रमशः घट्दै जाने हुन्छ । र यो समस्या दृष्टि बिग्रिने प्रक्रियामा परिवर्तन हुँदै जान्छ । ‘डायबेटिक रेटिनोप्याथी’ आँखाको ज्योति गुम्नुको प्रमुख कारण हो ।‘लुपस’, ‘मल्टिपल स्केलेरोसिस’, ‘रुमेटोइड’ र ‘ग्रेभ्स’ जस्ता ‘अटोइम्युन’ रोगहरुले आँखालाई प्रभावित पार्न सक्छन् ।

त्यस्तै क्यान्सर, फोक्सोसम्बन्धी रोग, थाइराईडले पनि आँखासम्बन्धी समस्या निम्त्याउँछ । त्यसैले आँखा जँचाउन जाँदा चिकित्सकलाई स्वास्थ्य सम्बन्धी पहिलेको र हालको अवस्थाबारे इतिहास थाहा हुन जरुरी छ । नियमित रूपमा आँखाको जाँच गराएमा आँखा र आँखाको ज्योति सम्बन्धी सबै समस्या पत्ता लागि समाधान हुन्छ ।

धूम्रपान त्याग्ने 
धूम्रपानले आँखासम्बन्धी रोग लाग्न सघाउँछ । धूम्रपान गर्ने व्यक्तिलाई आँखासम्बन्धी रोग लाग्ने सम्भावना उच्च हुन्छ । उमेर बढेसँगै आँखा बिरामी हुने, आँखा सुक्खा हुने जस्ता समस्या देखा पर्छन् । व्यक्ति धूम्रपानले रक्त बाहिनी नलीलाई नष्ट पार्ने काम गर्छ । जसले हृदयाघातको जोखिम हुने र आँखाको ज्योति गुम्न सक्ने खतरा हुन्छ । त्यसैले आँखाको बिरामीले धूम्रपान तत्काल त्याग्नुपर्छ ।

एजेन्सीहरूको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस