विश्व मुटुरोग दिवस: नेपालमा मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणाले बढ्याे

पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको हाे।

उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेका छन्। मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको उनले जानकारी दिए। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ ।

नेपालमा १८ वर्षमाथिका ३५ प्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ। डा. रेग्मीले विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्षभित्रका एक प्रतिशतलाई बाथ मुटुरोग रहेको बताए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन्। यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन्। डा. रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख कारण रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिए।

सरकारको प्राथमिकता मुटु रोग रोकथामभन्दा पनि उपचारमा बढी भएको उनको विश्लेषण छ। सरकारले उपचारमा हैन रोकथामा केन्द्रित नीति बनाउनुपर्ने उनको धारणा छ। सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धलाई निःशुल्क मुटुको शल्यक्रिया तथा उपचार गर्ने गरेको छ। यस्तै बाथ मुटु रोगका बालबालिकालाई समेत निःशुल्क उपचार गर्ने गरेको छ। स्वास्थ्य मन्त्रालयले विपन्न सहायता कोषबाट पनि मुटु रोग लागेका व्यक्तिलाई एक लाख रुपियाँ सहयोग गर्ने गरेको छ।

मुटु रोगका कारण हृदयाघात हुने सम्भावना हुन्छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शिवजी सिलवालले हृदयाघात भएको अवस्थामा त्यसको लक्षण करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहन सक्ने बताए। उनले हृदयाघात हुनेबेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पूरा छाती भारी भएको महसुस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङको तल्लो भाग दुख्ने लक्षण देखा पर्ने बताए।गाेरखापत्रबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस