कवि महेशराज खरेलको ‘मनको किरण’ कवितासङ्ग्रहको लोकार्पण

काठमाडाै । कवि महेशराज खरेलद्वारा रचित ‘मनको किरण’ कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चा कार्यक्रम भर्चुअल (जुम) माध्यमबाट सम्पन्न भयाे । साहित्य सुधा नेपालको आयोजनामा सम्पन्न भएको साे विशेष समारोहको अध्यक्षता साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले गर्नुभएको थियो भने सञ्चालन इन्दिरा दाहालले गर्नुभएको उक्त समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो ।

विशिष्ट अतिथिमा प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.गोविन्दराज भट्टराई उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ डा.गीता त्रिपाठी, वरिष्ठ साहित्यकार कलानिधि दाहाल, शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक रमेश पोखरल, नमुना प्रकाशन तथा अनुसन्धान केन्द्रकी कौशल्या रिसाल, साहित्य सुधा नेपालकी परिकल्पनाकार मनिषा प्रसाईँ, नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर तथा साहित्यकार चिन्तामणि सिवाकोटी, अग्रज व्यक्तित्वहरू कमल खरेल, रामेश्वर अर्याल उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई साहित्य सुधा नेपालका उपाध्यक्ष गणेश घिमिरे ‘मार्मिक’ले स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि माननीय कुलपतिज्यूले ‘मनको किरण’ कवितासङ्ग्रहको पुस्तक देखाएर लोकार्पण भएको घोषणा गर्नुभएको थियो । प्रकाशकका तर्फबाट कौशल्या रिसालले मन्तव्य राख्नुहुँदै अनुभवले खारिएका परिपक्व कवि महेशराज खरेलका कविताको पाण्डुलिपि हेर्दा यी कविताहरू प्रकाशनयोग्य भन्ने लागेरै सङ्ग्रह प्रकाशन गरिएको धारणा राख्नुभयो ।

लोकार्पित कृतिका बारेमा टिप्पणी गर्दै प्राज्ञ डा.गीता त्रिपाठीले मुक्त लयका बाउन्नओटा कविता र एक सयओटा मुक्तक सङ्ग्रहित यस सङ्ग्रहलाई नियाल्दा कवि चेतननशील स्रष्टाका रूपमा चिनिएका छन् । सङ्ग्रहमा जीवनदर्शनका कविता बढी परेका छन् । अन्तरमनका अनुभूतिलाई इमानदारीका साथ प्रस्तुत गरिएको छ । एउटै कवितामा विषयको विविधता रहेको पाइन्छ । संस्कृति, जीवनदर्शन अनि समसामयिक युगजीवन कवितामा एकैपटक आएको पाइन्छ र छरिएर पनि विषयलाई समेट्न सकेको पाइन्छ । नयाँ नयाँ विम्बहरूको प्रयोग गरिएको छ । जीवनचेतना र युगचेतनाका कविका कविता केही निकै लामा छन् त्यसैले केही छोट्याउने र विषयको स्पष्टता आवश्यक रहेको छ । कविले तिमी पात्रको अधिक प्रयोग गरेका छन् । कविताहरू काव्यात्मक, व्यञ्जनात्मक र व्यङ्ग्यात्मकसमेत रहेका छन् । त्यसैले पेसाबाट अवकाश प्राप्त गरेपछि साहित्यमा आएका कविलाई स्वागत छ र भविष्यमा थप परिमार्जन हुँदै जाने अपेक्षा गर्न सकिन्छ भन्नुभयो ।

सङ्ग्रहबाट रमेश पोखरेल र कृष्णदेव रिमालले एउटा एउटा कविता वाचन गर्नुभयो भने साहित्य सुधाका सल्लाहकार कलानिधि दाहालले कविनायकलाई सिर्जनामा निरन्तरता र गाढापन ओओस्, प्रकृति र जीवनलाई गहन अध्ययनका साथ तादात्म्य गर्दै अब्बल सिर्जना हुन सकुन् भन्ने शुभकामना दिनुभयो । फेसबुक लाइभमा आएका प्रतिक्रियालाई प्रविधि संयोजकसमेत रहनुभएका नागाधिराजले सङ्क्षिप्त रूपमा जानकारी गराउनुभएको थियो ।

साहित्य सुधा नेपालका संरक्षक प्राज्ञ डा.देवी नेपालले लोकार्पित कवितासङ्ग्रहका कवि परिपक्वतापछिको जिम्मेवारी बोधका साथ आएका, यस्ता कविको कृतिमाथि परिचर्चा गर्ने अवसर साहित्य सुधा नेपालले प्राप्त गरेको, साहित्य सुधा नेपाल नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्ने अभियानमा रहेको, यो कवितासङ्ग्रहका प्रकाशक, स्रष्टाका परिवार धन्यवादका पात्र हुनुभएको भन्नुहुँदै अब कविले जागिरे जीवनबाट अवकाश प्राप्त गर्नुभएकाले सिङ्गो समय नेपाली साहित्यको श्रीवृद्धिमा अर्पण गर्नुहुने अपेक्षा गर्नसकिन्छ ।

हुन त स्रष्टा आफै पाठक तथा समालोचक हुन्छ । त्यति हुँदा हुँदै पनि सिर्जनामा परिष्कारको सम्भावना चाहिँ रहि नै रहन्छ । कला भनेको गहिरिँदै जाने कुरा हो र त्यसका लागि साधना अपरिहार्य हुन्छ । कविको सिर्जनायात्रा निरन्तर रहोस्, आगामी सिर्जना मस्तिष्कका किरण बनुन् अर्थात् हार्दिकता र बौद्धिकताका कविता स्रष्टाबाट सिर्जना भइरहुन्, हार्दिक शुभकामना दिनुभयाे ।

प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले ताप्लेजुङमा जन्मेर काठमाडौँ प्रवेश गरी राष्ट्रिय वाणिज्य बैङ्कमा लामो समय जागिरे जीवन बिताएर अवकाश प्राप्त गरेपछि केही समय कवि विरामी पर्नुभएपछि उहाँको अन्तस्करणको चेतनाले साहित्यसिर्जनाका क्षेत्रमा फर्काइदिएको छ । २०४३ सालदेखि नै साहित्यसिर्जनामा लागेका भए पनि वाणिज्य बैङ्कको टे«ड युनियन अभियानमा संलग्न रहँदा उहाँको साहित्य ओझेलमा परेको हो । उहाँको सिर्जनायात्रा ‘कला जीवनका लागि’ भन्ने उद्देश्यले प्रभावित रहेको छ । आज लोकार्पित कवितासङ्ग्रहमा बाउन्नओटा फुटकर कविता र एक सयओटा मुक्तक समेटिएका छन् ।

युगीन यथार्थबोधका कविता यसमा रहेका छन् । कवितामा समाजका यथार्थको प्रस्तुति अब्बल रहेको छ भने प्रेमप्रणयको पक्षलाई पनि निकै उच्चताका साथ अभिव्यक्त गरिएको छ । देशभक्तिको, राष्ट्रप्रेमको भावना यत्रतत्र अभिव्यक्त भएको छ । हुन त कवि आफैँले समालोचक भएर सिर्जना गरेको हुन्छ । यस सङ्ग्रहमा पनि दृष्टिकोणका हिसाबले विचारको सम्यक सम्प्रेषण गर्न कविले कविता सिर्जना गरेका छन् ।

यी कविताहरूमा समाज रूपान्तरणको चेतना सम्प्रेषित भएको पाइन्छ । कवितामा प्रयुक्त भाषा खारिएको, माझिएको र प्राञ्जल छ; कविता बोधगम्य छन् । कताकती दृष्टिकोणमा विपर्यास र अलमल पनि पाइन्छ तापनि २०७५ पछि कविको सिर्जनासक्रियता बढी भएको देखिन्छ । कवितामा रहेका विचार र कलाका कसरमसरहरू परिष्कारका माध्यमबाट हट्दै जान्छन् तर यो सङ्ग्रहमा रहेका मुक्तकको कलात्मक सामथ्र्य चाहिँ बढी सशक्त रहेको देखिन्छ भन्ने धारणा राख्नुभयो ।

प्रा.डा.गोविन्दराज भट्टराईले आफूले सङ्ग्रहको भूमिका लेखेको हुँदा बोल्नुपर्ने धेरै कुरा नरहेको, एक समयका मेरा विद्यार्थी पनि रहेका स्रष्टा प्रतिभा र क्षमता भएका व्यक्ति हुन् । विरामी भएपछि सिर्जनाको क्षेत्रमा आएर नेपाली साहित्यको सेवामा प्रवेश गर्ने उनको ध्येय कीर्तिको रहेको छ । लेखन सवतन्त्र कुरा हो, लेखक बहुआयामिक हुन्छ त्यसैले लेखकीय स्वतन्त्रता कायम रखेर स्रष्टाले सिर्जना गर्नुपर्दछ । कवि महेश खरेल अध्ययनशील स्रष्टा हुन् र उनका यस सङ्ग्रहका कविता मध्यमस्तरका रहेका छन् भन्ने धारणा राख्नुभयो ।

लोकार्पित कृतिका स्रष्टा महेशराज खरेलले मेरा तीनओटा कविताको समीक्षासहित शब्द संयोजन साहित्यिक मासिकमा प्रकाशित गरिदिने पहिलो समीक्षक रमेश पोखरेल, मेरा कविताको पाण्डुलिपि हेरेर प्रकाशनयोग्य छन् भनेर हौस्याउने र कृति प्रकाशनको जिम्मा लिइदिने कौशल्या रिसाल, मेरा कविता सुनेर ऊर्जा थपिदिने कलानिधि दाहाल, कविता सुनेर हौस्याउने साहित्य सुधा नेपालकी परिकल्पनाकार मनिषा प्रसाईँबाट मलाई असाध्यै प्रेरणा प्राप्त भएको छ । छिप्पिएको मान्छे तर कलिलो प्रयत्न हो मेरो यो सङ्ग्रह । मलाई ८९ वर्षकी मेरी आमाको आजपर्यन्त प्रेरणा प्राप्त छ भने मेरा दिवङ्गत बुबाको ‘निष्ठा र इमानमा अब्बल हुनू’ भन्ने आशीर्वाद मैले ग्रहण गरेको छु । आजको यो विशेष समारोहमा निमन्त्रणा स्वीकार गरेर आइदिनु हुने, टिप्पणी गरिदिनु हुने, शुभकामना दिनुहुने, प्रविधिको व्यवस्थापन गरिदिनु हुने र यो भव्य कार्यक्रमकै आयोजना गरिदिनु हुने, एकपटकको निम्तालाई स्वीकार गरेर उपस्थित भइदिनु हुने विशिष्ट अतिथिज्यूहरू, माननीय प्रमुख अतिथिज्यूसमेत सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो र सङ्ग्रहभित्रको एउटा कविता वाचन गर्नुभयो ।

प्रमुख अतिथि कुलपति गङ्गाप्रासद उप्रेतीले ‘मनको किरण’ कवितासङ्ग्रहको शीर्षक नै सुन्दर छ । सर्वप्रथमतः कविलाई हार्दिक शुभकामना छ । तीन–चारजना व्यक्तित्वले गर्नुभएको परिचर्चाले पनि कृति पठनीय छ भन्ने पुष्टि भइसकेको छ । यद्यपि सिर्जनामा परिष्कारको आवश्यकता रहि नै रहन्छ । लामो समय पेसामा समर्पित गरेर अवकाशपछि चिरस्थायी रहने साहित्यसिर्जनामा फर्किएका कवि खरेलको यो कृतिले खारिएका अनुभवलाई समेटेको छ, यो कृतिमा सार छ र कविमा क्षमता छ भन्ने प्रमाणित गरेको छ ।कृतिको प्रकाशनमा प्रकाशकको ठुलो भूमिका रहन्छ । प्रकाशकले अनुभवका धेरै पाटा समेटिएको संस्मरणसङ्ग्रह प्रकाशोन्मुख रहेको जानकारी दिनुभएको छ, यो खुसीको कुरा हो ।

हाम्रा हरेक कर्म समाजका लागि हुन् । जीवनलाई अनुभूत गर्ने अनेकौँ तरिकामध्ये एउटा हो सिर्जनाको क्षेत्र । त्यसैले साहित्य चिरस्थायी हुन्छ । नेपाली साहित्यको प्रबर्धनमा लागेको साहित्य सुधा नेपालको आजको यो आयोजनाको कर्म पनि अनुकरणीय छ । फरक फरक ठाउँबाट अन्ततः हामी साहित्यको सेवा गरिरहेका छौँ । अहिलेको विषम परिस्थितिमा पनि प्रविधिको प्रयोगले सहजताका साथ हामी जुटेका छौँ । त्यसैले आजको यो कार्यक्रम महत्त्वपूर्ण रहेको छ । कार्यक्रमको आयोजना गर्ने संस्था र कवितासङ्ग्रहका कविलाई फेरि पनि हार्दिक बधाई दिन्छु भन्नुभयो ।

कार्यक्रमकी अध्यक्ष कल्पना काफ्लेले आफ्नो कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चाको अवसर हाम्रो संस्थालाई दिने स्रष्टा महेशराज खरेल, निम्ता स्विकारेर उपस्थित भइदिनु हुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिहरू, सहभागीहरू, प्रविधिव्यवस्थापन गर्ने नागाधिराज, कार्यक्रम सञ्चालिकलगायत सबै सबैलाई हार्दिक धन्यवादसहित कार्यक्रमको समापन गर्नुभयो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस