१२ वर्षपछि नेतान्याहु सत्ताबाट बाहिर, बेनेट नयाँ प्रधानमन्त्री

काठमाडौँ । इजरेलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।

अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन् । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् ।

त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् । नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन् ।

इजरेलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन् । संसद्‌मा भएको छलफलमा बोल्दै नेतान्याहुले भने, ‘हामी फेरि फर्किने छौं ।’ मतदान सकिएपछि बेनेटतर्फ हिँडेर गएका उनले प्रधानमन्त्री निर्वाचित उनीसँग हात मिलाएका थिए ।

तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरेलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाएका छन् । ‘यो इजरेलीहरूको आन्तरिक मामिला हो । हाम्रो धारणा स्पष्ट छ । हामी सन् १९६७ को सिमानामा आधारित र जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं,’ प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एक जना प्रवक्ताले भने ।

गाजामा नियन्त्रण जमाएको हमास समूहका प्रवक्ताले इजरेललाई एउटा उपनिवेशवादी निकाय भन्दै बलको प्रयोग गरी प्रतिरोध गरेर आफ्नो अधिकारहरू फिर्ता लिनुपर्ने बताए । अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताएका छन् ।

नेतान्याहुले अब के गर्लान् ?
बीबीसीका मध्यपूर्व संवाददाता टोम बेट्मन भन्छन्, ‘पुराना बानीहरू त्याग्न गाह्रो हुन्छ ।’ उनका अनुसार विश्वासको मतको परिणाम घोषणा भएपछि बेन्जामिन नेतान्याहु संसद् भवनभित्र प्रधानमन्त्री बस्ने चेम्बरमा गएर बसेका थिए ।

खासमा उनी विपक्षी बस्ने बेन्चमा बस्नुपर्ने थियो। बेट्मनका विचारमा इजरेलका सर्वाधिक लामो समयका नेताको बहिर्गमन एउटा राजनीतिक इतिहासको क्षण थियो । तर उनी तत्कालका लागि कतै पनि जाने देखिँदैनन् ।

नेतान्याहुले विपक्षीको रूपमा नयाँ गठबन्धन निर्माण र अहिलेको गठबन्धन तोड्ने प्रयास जारी राख्ने छन् । यो अहिलेसम्मको सबैभन्दा बृहत् गठबन्धन भएकाले अझ अस्थिर हुनसक्ने सम्भावना छ । नाफ्ताली बेनेटले सबै दललाई एक ठाउँमा उभ्याएर अघि बढ्नुपर्नेछ । -बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस