कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

काठमाडौं । कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन् ।

नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार पछिल्लो समय नेपालमा पोस्ट कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको छ । कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने र ती समस्यालाई बेवास्ता गर्दा ज्यानै जानेहरुको संख्या समेत बढ्न थालेको छ । यस्तो अवस्थामा कोभिड संक्रमणबाट मुक्त भएपछि देखिने समस्याहरुको समयमै निदान अत्यावश्यक हुन्छ ।
के–के हुन् लक्षण ?
डा. जैसवालका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको चारहप्ताको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ । अर्थात कोभिड ठीक भएपछि अस्पतालबाट डिस्चार्ज भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्ने उनको सुझाव छ ।
डा. जैसवालका अनुसार थोरै समय हिँड्दा नै स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षण देखा पर्ने जस्ता लक्षणहरु देखा पर्न थाले भने तत्काल अस्पताल जानुपर्ने हुन्छ ।
ज्यानै जानसक्छ !
डा. जैसवालका अनुसार यस्ता लक्षणहरुप्रति बेवास्ता गरिए बिरामीको ज्यानै जानसक्छ । कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगतका थक्काहरु जमेर हृदयघात हुने समस्या देखिएको छ ।
यस्तै, जसलाई थोरै हिँड्दा नै स्वाँ स्वाँ हुन्छ, त्यस्ताको समेत हार्ट फेलियर हुने समस्या देखिएको छ । कतिपयलाई क्षारे रोगको जस्तो लक्षण तथा समस्या पनि देखिनसक्छ ।
यस्तै, कतिपयलाई पार्किन्सन्स हुँदाको लक्षण पनि देखिनसक्छ । यस्ता लक्षणहरुले ब्रेनमा समेत दीर्घकालीन समस्या ल्याइदिनसक्छ ।
डा. जैसवालका अनुसार कोभिडको उपचारका लागि धेरै दिनसम्म आइसियू र सिसीयूमा बसेर बाहिर निस्किएकाहरुलाई ट्रमाबाट निस्किएजस्तो समस्या देखिने गरेको छ । यस्ता समस्यालाई पनि बेवास्ता गर्नुहुन्न । यस्तो समस्या बढ्दै गए स्ट्रोक र प्यारालाइसिस हुनेसम्मका खतरा हुन्छन् ।
कसरी रोगथाम गर्ने ?
डा. जैसवालकाअनुसार शरीरमा तागत नै नभएजस्तो महसुस भयो, दमको जस्तो समस्या भयो र माथि उल्लेख गरिएका लक्षणहरु देखिए तत्काल अस्पताल जानुपर्छ र विशेषज्ञबाट उचित परामर्श लिन आवश्यक छ ।
उनले नर्भिक अस्पतालमा समेत कोभिडपछि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर ‘पोस्ट कोभिड क्लिनकि’ सुरुवात भएको उल्लेख गर्दै त्यहाँ आएर समेत सेवा लिन सकिने बताएका छन् ।
नर्भिकले यसअघि नै पोस्ट कोभिडको उपचारका लागि २ खालको प्याकेजको घोषणा गरिसकेको छ ।
पोस्टकोभिड क्लिनिकमा आउने बिरामीहरुको छातिको सिटी स्क्यान वा एक्स–रे गरेर फोक्सो वा संभावित निमोनियाको अवस्था हेर्ने काम गरिने डा. जैसवाल बताउँछन् । त्यस्ता बिरामीहरुको शरीरमा रोगप्रतिरोधी क्षमता कति छ भन्ने कुरा समेत एन्टीबडी जाँचबाट हेरिन्छ । रगत बाक्लो भएको छ कि छैन भन्नेजस्ता समस्या समेत विशेष जाँचबाट हेरिन्छ । यस्तै, हेमाटोलोजी प्रोफाइल, सीआरपी लगायतका जाँच पनि गरिन्छ।
जाँचहरुबाट आएको रिजल्टका आधारमा उचित परामर्श दिई आवश्यक औषधि र अन्य विषयमा चिकित्सकहरुले परामर्श सेवा उपलब्ध गराउनेछन् ।
डा. जैसवाल भन्छन्–‘पोस्ट कोभिडपछि देखिने समस्याहरुको बेवास्ता नगर्नुहोस् । यसले ज्यानै जानसक्छ । समयमै अस्पताल आएर विज्ञले सुझाएको जाँच गरी परामर्शका आधारमा औषधि लिन थाले ज्यान जोगिनसक्छ ।’

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस