मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग पराजित

काठमाडौं । नेपाल र इराकबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाल ६–२ गोल अन्तरले पराजित भएको हो ।

इराकको बसरामा भएकाे खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो। उसका लागि कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे। उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रह्यो। आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो।

नेपालले खेलको ३० औं मिनेटमा मनिष डाँगीको गोलमा घरेलु टोली माथि अग्रता लिएकाे थियाे । उनले सन्तोष तामाङको पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए। गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालमा अग्रता दिलाए। उनले आफनो डेब्यु खेलमै गोलका गरेका हुन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षकमा किरण चेम्जोङको कप्तानीमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका थिए। दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन्।

खेलको ४० औं मिनेटमा इराकले बराबरी गोल फर्कायो। कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले हेडरमार्फत बराबरी गोल गरे।त्यसको एक मिनेट नबित्दै इराकले तेस्रो गोल गर्दै नेपालमाथि अग्रता लियो। पहिलो हाफको इन्ज्यूरी समयमा गबधनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे। विंगबाट आएको क्रसलाई उनले हेडिङमार्फत गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ४-२ को अग्रता दिलाए।

दोस्रो हाफमा नेपालले तीन खेलाडी परिवर्तन गरेको थियो । सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको सुरुवातमा इराकले दबाब बनाएपनि गोल गर्न भने निकै संघर्ष गर्नुपर्यो ।

६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराक ५-२ ले अघि बढ्न सफल भयो । वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले उक्त पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेका थिए ।

खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६-२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।

नेपाल अब जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ ।

नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०-१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस