बिस्फोटमा परी माल्दिभ्सका पूर्वराष्ट्रपति घाइते

एजेन्सी । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते भएका छन् । उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन् ।

सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो । माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छः मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ ।

प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ । उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ ।

उनका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्।  त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई हेरेर दङ्गा प्रहरी परिचालन गरिएको बताइएको छ ।

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्विटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन् । सत्ताधारी पार्टीका एकजना सांसद अलि अजिमले त्यो मोहम्मद नाशिदलाई लक्षित गरेरै भएको आक्रमण हुनसक्ने बताएका छन् ।

नाशिद माल्दिभ्समा प्रजातान्त्रिक रूपमा निर्वाचित प्रथम राष्ट्रपति हुन् । सन् २००८ मा भएको बहुदलिय निर्वाचनमा विजयी भएर उनी राष्ट्रपति बनेका थिए । तर त्यसको चार वर्षपछि एउटा सैनिक विद्रोहबाट उनलाई सत्ताच्यूत गरिएको थियो । त्रिपन्न वर्षका नाशिदको पद माल्दिभ्सको दोस्रो ठूलो शक्तिशाली पद हो ।

माल्दिभ्स सुन्नी मुस्लिमहरूको बाहुल्यता भएको देश हो र झण्डै १,१९२ वटा टापुको समूह रहेको उक्त देश भारतीय उपमहाद्वीपको दक्षिण-पश्चिममा अवस्थित छ । माल्दिभ्स त्यहाँको समुद्री तट र विलासी रिजोर्टहरूका लागि एक पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ । -बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस