श्याम साहको कथासङ्ग्रह ‘पथेर’ विमोचित

काठमाडौँ  ।कथाकार श्याम साहको दोश्रो कथासङ्ग्रह ‘पथेर’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार किताबको विमोचन समारोह सम्पन्न भएको हो ।

कथासङ्ग्रह ‘पथेर’ सार्वजनिकीकरण कार्यक्रममा लेखक राजन मुकारुङ, लेखक एवम् राजनीतिक समीक्षक सिके लाल, त्रिवि समाजशास्त्र विभागका प्रमुख डा. युवराज लुईंटेल र लेखक विभूति भट्टराई वक्ताका रुपमा प्रस्तुत भएका थिए ।

कार्यक्रममा बोल्दै लेखक राजन मुकारुङले भने, ‘नेपाली साहित्यको पुरानो मानक र व्याकरणमा राखेर यो कृतिलाई विद्वानहरुले हेर्नुभयो भने कृति आफ्नो लाग्दैन ।’ पुरानै दृष्टिकोणबाट कथासङ्ग्रहलाई पढ्न खोजेमा कथाकारले उठान गर्न खोजेको विषय र मुद्दासँग पाठक ‘कन्भिन्स’ हुन गाह्रो पर्ने उनले बताए । केन्द्रमा बसेर एकाध व्यक्तिहरुले नेपाली समाजका बारेमा गरेको व्याख्या अपर्याप्त रहेको उनको भनाई थियो । नेपालको सम्पूर्ण भूगोलका साहित्यहरुको प्रतिनिधित्व भएमात्रै साहित्यको वास्तविक मूलधार निर्माण हुने उनको तर्क थियो ।  साहित्यको कथित मूलधारलाई भत्काउनका लागि श्याम साहको कथासङ्ग्रहले योगदान दिने उनले बताए । कथाकारले आफ्ना कथाहरुमार्फत स्थापित बिम्बहरुलाई भत्काउन सफल भएको मुकारुङको भनाई थियो ।

कथासङ्ग्रहमाथि आफ्नो धारणा प्रस्तुत गर्दै लेखक विभूति भट्टराईले साहका कथाहरु पढेपछि पाठकलाई मधेशप्रति अपनत्व महसूस हुने बताइन् । राज्यद्वारा मधेशमाथि भएको विभेदका विविध आयामहरुलाई कथाकारले आफ्ना कथाहरुमार्फत प्रस्तुत गर्न सफल भएको उनले बताइन् । मधेशको सामाजिक मनोविज्ञान, मधेशी समाजमा व्याप्त पितृसत्तात्मक संरचना, मधेशको समग्र अर्थ-राजनीति, आदि विषयलाई कथाकारले मिहिन ढंगले आफ्ना कथाहरुमा चित्रण गरेको उनले बताइन् । केन्द्रले रटाइरहेको विकासको रटानमाथि पनि मधेशको फरक दृष्टिकोण हुनसक्नेतर्फ श्याम साहको कथाले सतर्क गराएको भट्टराईको भनाई थियो ।

त्रिवि समाजशास्त्र विभागका प्रमुख डा युवराज लुईंटेलले, मधेशका कथाहरु लेखेर श्याम साहले नेपाली साहित्यमा सशक्त उपस्थिति जनाएको बताए । साहका कथाहरुमा मधेशको र विशेषतः महेन्द्र राजमार्गदेखि दक्षिणको आञ्चालिकता झल्किएको उनले बताए । मधेशमै पनि सबैभन्दा तल्लो तहमा राखिएका समुदायहरुको कथा लेखेकोले मधेशभित्रको वर्गीय अनुहार साहले देखाउन सफल भएको उनको भनाई थियो ।

लेखक एवम् राजनीतिक समीक्षक सिके लालका अनुसार साहका कथाहरुमा मधेशभित्रको समाजलाई हेर्ने वास्तविक दृष्टिकोण प्रस्तुत गरिएको छ । साहित्य समाजको ऐना भएकाले त्यसमा परावर्तित हुने कुरा लेखकको पृष्ठभूमि र दृष्टिकोणमा भर पर्ने उनले बताए । समाजको उठान सही तरिकाले भएका कथाहरु नै कालजयी हुने उनको धारणा थियो । मधेशको सामाजिक-राजनीतिक चित्रणमा कथाकार साह सतप्रतिशत सफल भएको उनको भनाई थियो ।

फिनिक्स बुक्सले प्रकाशन गरेको कथासङ्ग्रह ‘पथेर’भित्र एघारवटा कथाहरु सङ्ग्रहित छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस