काठमाडौँमा प्रदुषण : जोरबिजोर लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी

काठमाडौँ । केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशका विभिन्न भू-भागको आकाशमा प्रदूषित वायु छाएको छ । उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको हो ।

विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ । उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको थियो । यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन आवश्यक छ ।

डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचलेका कारण त्यसैबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ ।’

शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सुधार आएको थियो तर, आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ । सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ । सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको प्रवक्ता जोशीले बताए ।

तुवाँलो अझै केही दिन रहने
स्थिर रहेको वायुमण्डल आगामी दुई-तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताइन् । उनका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचलेका कारण वायुप्रदूषण बढेको हो ।

प्रदूषित वायुमण्डल सफा हुन कि त वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् । यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरे मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस