नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन

काठमाडौं । बीमा समितिले नेपालमा नयाँ पुनर्बीमा कम्पनीको आवश्यकता र सम्भाव्यताबारे अध्ययनकाे प्रकृया शुरु गरेकाे छ । यसका लागि बीमा विज्ञ भोजराज शर्माको अध्यक्षतामा ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिकाे सदस्यमा बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेन्ट सुजन आचार्य छन् ।

नयाँ पुनर्बीमा कम्पनी खोल्न निजी क्षेत्र इच्छुक देखिएपछि समितिले थप पुनर्बीमा कम्पनीको आवश्यकता छ/छैन वा कत्तिको सम्भाव्य छ भन्ने विषयमा अध्ययन थाल्ने भएको हो ।

‘नयाँ पुनर्बीमा कम्पनीको आवश्यकता छ/छैन र सम्भाव्यता कत्तिको छ भन्नेबारे समितिले अध्ययन अघि बढाउने भएको छ,’ समितिका प्रवक्ता राजुरमण पौडेलले भने, ‘२१ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन अध्ययन समितिलाई कार्यादेश दिइएको छ ।’

हाल नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमात्र सञ्चालनमा छ । २०७१ कात्तिक ७ मा दर्ता भई विधिवत् रुपमा उक्त पुनर्बीमा कम्पनी सञ्चालनमा आएपछि फेरि अर्को पुनर्बीमा कम्पनी सञ्चालनमा आउन सकेको छैन । उक्त कम्पनीमा भने नेपाल सरकार र निजी क्षेत्रका १७ वटा निर्जीवन कम्पीहरुको सेयर रहेको छ । कम्पनीले जारी गरेको आइपिओमार्फत् सर्वसाधारण नेपालीको सेयर लगानी पनि यस कम्पनीमा भइसकेको छ ।

‘नेपालमा पुनर्बीमा कम्पनी एउटामात्रै छ, पुनर्बीमा बजारलाई चेक एन्ड ब्यालेन्स गर्न र प्रतिस्पर्धी बनाउन अर्को पनि पुनर्बीमा कम्पनी चाहिन्छ भन्ने आवाज पनि उठिरहेको छ,’ प्रवक्ता पौडेलले भने, ‘समितिले गर्ने अध्ययनले यी सबै विषयको टुंगो लगाउनेछ र नेपालमा अर्को पुनर्बीमा कम्पनीको आवश्यकता छ/छैन भन्ने विषयमा पनि टुंगो लगाउन सकिन्छ ।’

नेपालको पुनर्बीमाको ९५ प्रतिशत व्यापार विदेशका पुनर्बीमा कम्पनीसँग रहेको भन्दै नेपालका निजी क्षेत्रका केही लगानीकर्ताले नयाँ पुनर्बीमा कम्पनी स्थापनाको व्यवस्था गरिदिन सरकारसँग माग गरिरहेका छन् । त्यस्तै, नेपालका पुनर्बीमा कम्पनीहरूले बिदेशमा पनि व्यवसाय गर्न सक्ने भन्दै उनीहरू लगानी गर्न उत्साहित देखिएका छन् ।

सुरुमा व्यवसायी डा. उपेन्द्र महतो, उनका भाइ डा. वीरेन्द्र महतो, शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवाललगायतका व्यवसायीले नयाँ पुनर्बीमा कम्पनी खोल्न यसअघि देखि नै तयारी गर्दै आएका थिए । हाल योसहित प्रुडेन्सियल र जेन्युन रि इन्स्योरेन्स कम्पनी गरी ३ कम्पनीले दर्ताका लागि समितिसँग अनुमति मागेका छन् ।

यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बीमा समितिको ५२ औं वार्षिकोत्सवको अवसरमा नेपालमा अर्को पुनर्बीमा कम्पनीको आवश्यकता रहेको बताएका थिए । यसअघिका बीमा समितिका अध्यक्षले पनि अनुमति दिने उद्देश्यले नै समितिका पुनर्बीमा कम्पनीले अनुमति माग गर्दै पेश गरेको निवेदन दर्ता गराएका थिए ।

तर, समितिमा हाल आएका अध्यक्ष सुर्यप्रसाद सिलवालले भने अध्ययन गरेर मात्र अनुमति दिने/नदिने टुंगोमा पुग्ने गरी अध्ययन अघि बढाएका छन् ।

नेपालमा हाल १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा कम्पनी छन् भने एउटा मात्र पुनर्बीमा कम्पनी रहेको छ । हाल बीमाको पहुँच २७ प्रतिशत नेपालीमा मात्र पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस