भूकम्पपछिको पुनर्निर्माणमा ३ खर्ब ३९ अर्ब खर्च

काठमाडौं । विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा हालसम्म ३ खर्ब ३९ अर्ब खर्च भइसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार परिमार्जित कुल बजेट ४८८ अर्ब रुपैयाँ मानिएको थियो ।

त्यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरूको समेत गरी उक्त रकम खर्च भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । प्राधिकरणले चालू आवमा ५५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

त्यसमध्ये पुससम्म १४ अर्ब ३ करोड खर्च गरिसकेको छ । विनियोजित सबै रकम बाँकी अवधिमा खर्च गर्न सकेमा कुल ३ खर्ब ८० अर्ब प्राधिकरणले खर्च गर्ने देखिएको छ । यसक्रममा करिब १६ करोड ६० लाख कार्य दिनबराबरको रोजगारी सिर्जना गरेको र मुलुकमा उपलब्ध सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठलगायतका उद्योगहरूको टेवा पुगेको उनको भनाइ छ ।

११ महिना अवधि बाँकी
विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि अब ११ महिनाभन्दा कम रहेको छ । ५ वर्ष पूरा गरेको प्राधिकरणलाई मन्त्रिपरिषद्को १५ मंसिरमा बसेको बैठकले १० पुस ०७७ देखि एक वर्षका लागि म्याद थप गरेको हो ।

प्राधिकरणले २०७८ असार मसान्तसम्मको अवधिमा चालू आर्थिक वर्ष ०७७–७८ मा विनियोजित बजेटअन्तर्गतका कार्यहरू कार्यान्वयन गर्ने तयारी गरेको छ । त्यसपछिको बाँकी अवधिमा लेखा स्रेस्ता अद्यावधिक गर्ने कार्य, लेखापरीक्षण गर्ने–गराउने कार्य तथा प्राधिकरणको जिम्मेवारी र सम्पत्ति नेपाल सरकारले तोकेका निकायमा हस्तान्तरण गर्ने कार्यहरू गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । –नयाँ पत्रिका दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस