कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनाव कि थप सडक संघर्षका पक्षमा गर्ला निर्णय ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गगन थापालगायतका नेताहरु आन्दोलनको पक्षमा छन् । आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्ने देखिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेण्डा बनाउने निर्णय गरेको छ ।

विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ ।

बैठकपछि प्रतिक्रिया दिंदै नेता पौडेलले पार्टीले आगामी दिनमा कस्तो कदम चाल्ने भनेर निकटहरुसँग परामर्श गरिएको जानकारी दिएका छन् । छलफलले पार्टीको आसन्न १४ औं महाधिवेसन ग्यारेन्टी गर्न सभापति देउवालाई दवाब दिने निर्णय गरेको छ ।

पार्टी समायोजनको बाँकी काम सकेर माघभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन र महाधिवेशनको नयाँ कार्यतालिका सीध्र सार्वजनिक गर्न आजको केन्द्रीय समिति बैठकमा सभापतिलाई दवाब दिने निर्णय भएको छ ।

छलफलमा सहभागी नेता नविन्द्रराज जोशीले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै महाधिवेशन सुनिश्चितताका लागि संस्थापन पक्षलाई दबाव दिने विषयमा छलफल भएको जानकारी दिए । सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भावातीत ध्यानमा आकर्षण बढेको छ : ध्यान शिक्षक पौड्याल (भिडियोसहित)

काठमाडौं । आजको यो विकृत परिवेशबाट शान्तिको श्वास फेर्नका निम्ति ध्यान आवश्यक छ । योग …

प्रतिकृया दिनुहॊस