काठमाडौँका सबै विद्यालय खोल्न अनुमति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दस महिनापछि मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण चैत ७ देखि बन्द रहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड पालना गर्दै माघ ११ गतेदेखि सञ्चालनको अनुमति दिएको हो ।

कामपाको आइतबार बसेको शिक्षा समिति बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका- २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए ।

गत मंसिर पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने आंशिक रूपमा मात्र सञ्चालन भएका थिए । बैठकले बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इन्जिनियरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इन्जिनियरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ देखि १२ को कार्यक्रम हो ।

अनुमति दिइएका विद्यालयलाई कामपाले ५० लाख रुपैयाँ अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । बैठकले नेपालभाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी वडा नं २६ सामाखुसीमा रहेको हार्मोनी मन्टेस्सोरी इलिमेन्ट्री स्कुललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेसन फाउन्डेसन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कुल कायम गर्ने निर्णय पनि गरेको छ । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय छन् । –राससको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस