कोरोनाको नयाँ प्रजाति नेपाल भित्रिन नदिन के गर्ने ?

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन आएपछि सन्तोषको सास फेरिरहेको विश्व जगतमा फेरि अर्को संकट आएको छ । पहिलेको भन्दा खतरनाक भनिएको कोरोनाको नयाँ प्रजातिले विश्‍वमा नयाँ संकट ल्याइदिएको हो ।

बेलायतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ रुपले पूरै युरोपको अवस्था फेरि खलबलाइदिन थालेको छ । धेरै मुलुकहरुले बेलायतसँगको हवाई सम्पर्क बन्द गरिसकेका छन् । नेपालले पनि कोरोनाको नयाँ प्रकार नित्रिन नदिन बेलायतबाट नेपाल आउनमा प्रतिबन्ध लगाएको छ । तर यतिले मात्रै नयाँ कोरोनाको जोखिमलाई रोक्न पर्याप्त नहुँने विज्ञहरुको भनाई छ ।

नयाँ प्रजातिको कोरोना पहिलेको भन्दा निकै संक्रामक रहेको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए । यो प्रजाति नेपालमा पनि भित्रिने जोखिम रहेको उल्लेख गर्दै उनले अहिलेदेखि नै सतर्कता अपनाउन सरकारसँग माग गरेका छन् । नयाँ प्रजातिको भाइरस भित्रिन नदिन विमानस्थल तथा सिमानामा कडाइ गर्न जनस्वास्थ्य विज्ञ डा. पाण्डेले सरकारसँग आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अवलम्बन नगर्ने हो भने महामारी दोहोरिन सक्छ ।’

  • हेरौं डा. पाण्डेको सुझाव उनकै शब्दमा..

दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टका रूपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ ।

बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ । आयरल्यान्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापानलगायतका देशमा पनि यो भाइरस भित्रिएको छ । नयाँ प्रजातिको यो भाइरस सर्ने दर तीव्र छ । यसको घातकता अझै निश्चित भएको छैन ।

हामीले एयरपोर्ट तथा सिमानामा कडाइ नगर्ने हो भने तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अवलम्बन नगर्ने हो भने महामारी फेरि दोहोरिन सक्छ । घातक प्रभाव कम भए पनि जोखिम वर्गका व्यक्ति तथा कमजोर स्वास्थ्य प्रणाली भएकाका लागि यो नयाँ भाइरस ठूलो चुनौती हुनेछ । हाम्रो देशमा अहिले आन्दोलनको मौसम छ । दैनिक भइरहेका भीडभाडयुक्त बैठक, प्रदर्शनी, जुलुस, नाराबाजी आदिका कारण संक्रमण फैलिने ठूलो खतरा छ ।

अहिले महामारीको अवस्था कम भएको बेला हामी सबैले अनिवार्य र सही तरिकाले मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने हामी सुरक्षित हुनेछौं । विरोध तथा भेलाको स्वरूप बदलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु/गराउनु नितान्त जरुरी छ । जसरी उहानबाट सुरु भएको महामारी संसारभर फैलियो, त्यसैगरी बेलायतबाट सुरु भएको नयाँ प्रजातिको महामारी सबै देशमा नपुग्ला भन्न सकिँदैन, सरकारले यो नयाँ प्रजातिको भाइरसको रोकथाम गर्न आवश्यक रणनीति बनाउन अत्यावश्यक छ ।

योजनाबद्ध रूपमा निगरानी, परीक्षण, आइसोलेसन, उपचार क्षमता प्रवर्द्धन तथा खोप ल्याउने काममा निष्क्रिय हुने छुट हामीलाई छैन । हामी आम जनता यो प्रजातिबाट आत्तिनु पर्दैन । यसको घातकता अर्को कोरोना भाइरसभन्दा बढी छैन र अहिले बनेका खोप यो प्रजातिका लागि पनि उपयोगी हुने भनेर वैज्ञानिकहरूले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस