सरकारले उखुको प्रतिक्विन्टल मूल्य ५४४ रुपैयाँ तोक्यो

काठमाडौं । सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् समर्थन मूल्य ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्विन्टलले बढाइएको मन्त्रालयले जनाएको छ । लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको सिफारिस बुधबार मन्त्रिपरिषदमा पेश गरिएको थियो । नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयकी उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले जानकारी दिएकी छिन् ।

तर सरकारले तोकेको उखुको मूल्यबारे नेपाल उखु उत्पादक महासंघले आपत्ति जनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको महासंघका अध्यक्ष कपिलमणि मैनालीले बताएका छन् । ‘चिनीको मूल्य ५८ रुपैयाँ किलो हुँदा किसानले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उखुको दाम पाएका थिए तर चिनीको मूल्य ९० रुपैयाँ हुँदा ८ रुपैयाँले उखुको मूल्य बढाउनु किसान मार्ने खेल हो,’ मैनालीले भने ।

उखुको न्यूनतम् समर्थन मूल्य तोक्दा सरकार चिनी उद्योगीसामु झुकेको पनि मैनालीको आरोप लगाएका छन् । नयाँ मूल्य स्वीकार नगर्न विभिन्न चिनी मिलहरुसँग छलफल तीव्र पारिएको र सोको घोषणा आइतबार गरिने मैनालीले बताए ।

उनले सरकारको अन्यायपूर्ण निर्णयविरुद्ध किसान आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । ‘आज र भोलि हामी सर्लाही, महोत्तरी, रौतहटलगायतका जिल्लाका किसान प्रतिनिधिबीच भेला गर्दैछौँ, त्यही भेलाले आन्दोलनको स्वरुप निर्धारण गर्छ,’ मैनालीले भने । उद्योगी र सरकारको रबैयाको कारण वर्षेनी २० प्रतिशतका दरले तराइमा उखु खेती घटिरहेको मैनालीले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस