अध्ययनको निष्कर्षः एन्टिबडीले ६ महिनासम्म पुनः संक्रमणबाट जोगाउँछ

काठमाडौं । कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ ।

अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड-१९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो । शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ ।

अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड-१९ हुन नदिएको देखियो । सङ्क्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई “उत्साहवर्धक समाचार” भनेकी छन् । उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन “छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त” हुने अनुसन्धाताहरूले बताएका छन् ।

अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२,००० कर्मचारीलाई संलग्न गराइएको थियो । तीमध्ये ११,००० जनामा कोभिड-१९ को एन्टिबडी भेटिएको थिएन । भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ। ती तत्त्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन् । अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो । स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो ।

तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन । परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड-१९ भएको पाइयो। उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन । तर ती तीन जना पनि बिरामी भएनन् ।

रुघाबाट टी-सेल
उक्त अध्ययनका अनुसार “सार्स-कोभ-२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी” परिणाममा एकरूपता देखियो । यो अनुसन्धानमा कोभिड-१९ गराउने कोरोनाभाइरसको “स्पाईक प्रोटीन” विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो ।

कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ । अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो । यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी-सेल नामक विशेष कोषको अध्ययन गरेको थियो ।

अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी-सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोरोनाभाइरस भए पत्ता लगाउने गरेको देखिएको थियो । तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड-१९ भएको पुष्टि भएको थियो ।

उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड-१९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोरोनाभाइरसको सङ्क्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ । पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी-सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड-१९ भएन । बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस