वर्षको एक दिन खुल्ने तलेजु मन्दिर आज नखुल्ने

काठमाडौं । हरेक वर्ष आश्विन शुक्ल नवमी अर्थात् वडादसैंको महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर आज नखुल्ने भएको छ । हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेको भन्दै नखुल्ने भएको हो ।

दसैंको महानवमीमा मन्दिर नखुले पनि भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा हुनेछ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । कोरोना संक्रमणको त्रासले यसवर्ष देशभरका शक्तिपीठ ठप्प छन् । सरकारले सबै शक्तिपीठमा नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ ।​

महानवमीमा मात्र खुल्ने भएकाले तलेजुमा हरेक वर्ष आजकै दिन दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो । तलेजु मन्दिर नखुले पनि महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरेर मनाइँदैछ । घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाउने चलन छ ।

देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना हुन्छ । शक्तिपीठमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठसमेत हुन्छ । ​

पशुबलि नदिनेहरुले कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । यस वर्षको विजया दशमीको टीका सोमबार अर्थात् भोलि हो । भोलि सबैले दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट टीका ग्रहण गर्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज शुक्रबार थप १२ सय ७२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शुक्रबार थप १२ सय ७२ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य …

प्रतिकृया दिनुहॊस