टिपताला नाका बन्द हुँदा घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैंचा

ताप्लेजुङ । कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैंचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् ।

सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्राय सबैले गलैंचा बुन्ने पेशालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् । यो बस्तीमा ५४ घर परिवारको बसोबास छ । पशुपालन, जडिबुटी सङ्कलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

तिब्बततर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरु समस्यामा परेका छन् । केही वर्ष अघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन र जडिबुटी सङ्कलनमा सहज थियो । पछिल्लो पटक अध्ययन लगायतका कामले युवा शहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन र जडिबुटी सङ्कलनको काम छाडेर घरमा रहनेले गलैँचा बुन्ने गरेका छन् ।

‘गत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको छ, नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाको मुख्य बजार भनेकै चीनको तिब्बत हो’, गलैँचा व्यवसायी याङ्दी वालुङले भने ।

एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको र अर्कातिर काठमाडौंलगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ छ । गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरु समस्यामा पर्ने स्थानीय वालुङले बताए ।

‘विगतका वर्षमा तिब्बतमा गलैँचा लगेर वर्षभर पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरिन्थ्यो, यो वर्ष न गलैँचा बेच्न पाइयो न त खाद्यान्न जोहो गर्न सकियो, यस्तै अवस्था रहिरहे हामी सर्वसाधरणलाई समस्या हुने भयो’, वालुङ भने ।

वर्षेनी जेठदेखि साउन भदौसम्म याक, चौंरीलाई गलैंचा बोकाएर तिब्बत जाने र आउँदा खाद्यान्न लगायतका सामान लिएर फर्किने ओलाङ्चुङ्गोलाबासी चाँडै नाका खुल्ला भन्ने आशमा देखिन्छन् । तर दिनानुदिन सङ्क्रमणले ठूलो रुप लिँदै गएकाले नाका खुल्ने सम्भावना छैन ।

हरेक घरमा गलैंचा थन्किएर समस्या आउने देखिएपछि बजारीकरणका लागि वडाले पहल गरिरहेको त्यहाँका वडा अध्यक्ष छेतेन शेर्पाको भनाइ छ । ‘सबैको घरमा गलैंचा थन्किएका छन्, बजारीकरण नहुँदा आर्थिक रुपले उनीहरु समस्यामा पर्ने देखिन्छ, अहिले वडाले बजारीकरणका लागि विभिन्न क्षेत्रमा समन्वय गर्ने काम गरिरहेको छ’, अध्यक्ष शेर्पाले भने ।

ओलाङ्चुङ्गोलामा वार्षिक ५०० बढी गलैंचा उत्पादन हुने गरेको उनले बताए । एउटा गलैंचा बुन्नका लागि कम्तिमा १० दिनसम्म समय लाग्छ । यसका लागि चाहिने धागोलगायत कच्चा पदार्थसमेत चीनबाट नै ल्याउने गरिएको छ । गलैंचाको मूल्य सामान्यतया रु १० देखि २० हजारसम्म पर्छ । यहाँ उत्पादित गलैंचाको मुख्य बजार नै चीनको तिब्बत हो । कहिलेकाही कोशेलीको रुपमा काठमाडाैंलगायत ठाउँमा समेत लगिने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कारोबार हुने अन्तिम   दिन  शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने अन्तिम   दिन  बिहीबार बढेकोे छ …

प्रतिकृया दिनुहॊस