नवरात्रीमा देशभरका शक्तिपीठ भक्तजनका लागि नखोलिने

काठमाडौं । हिन्दुहरुको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठ भक्तजनका लागि नखोलिने भएका छन् । ती शक्तिपीठमा नित्य पूजा मात्र हुनेछ ।

काठमाडौँ उपत्यकालगायत धेरै जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो । पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले नवरात्रीमा मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । तर, पुजारीले नित्य पूजा एवं आरती भने गर्नेछन् ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् । त्यहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीसम्म भक्तजनको भीड लाग्छ । यी शक्तिपीठमा शारदीय नवरात्रीमा विशेष पूजा हुने गरेको छ ।

कोरोनाभाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ ।

नवरात्रीको पहिलो दिन आज दशैँघर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । नवरात्रीका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ । रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस