कठिन बन्दै भान्सा, तरकारीको मूल्य अत्याधिक महँगो

काठमाडौं । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् । कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताइन् । आलु मात्र होइन अरू तरकारी पनि छोइसक्नु छैन । यस्तै भइरहने हो भने दशैँमा समेत सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने रिजालले गुनासो गरिन् ।

व्यापारी भने अहिले कोरोनाका कारण आलु उत्पादन नै कम भएको र भएका ठाउँमा पनि किसानले महँगो भन्ने गरेकाले महँगिएको दाबी गर्छन् । कालीमाटी फलफूल तथा तरकारी व्यापारिक संस्थाका अध्यक्ष एवं थोक व्यापारी गीताप्रसाद आचार्यले आलुको पकेट क्षेत्र पाँचखालमा यो वर्ष वर्षाले गर्दा उत्पादन ढिला हुने हुँदा यसको मार उपभोक्तामा परेको बताए । पाँचखालको आलु उत्पादन भएर बजारमा आउन अझै एक महिना लाग्ने भएकाले आलुको भाउ अझै महँगो हुनसक्ने उनको भनाइ छ ।

आचार्यका अनुसार हरियो तरकारी पनि गत वर्षभन्दा महँगिएको छ । कालीमाटीमा आउने तरकारी गोलभेँडा, स्थानीय काउली, मूला तराई हुँदै भारतसमेत निर्यात भएको र त्यसले गर्दा तरकारीको मूल्य बढेको उहाँको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो । समितिका अनुसार गत वर्ष यही बेलामा दैनिक ७५० देखि ८०० टन तरकारी आउने गरेकामा अहिले दैनिक ३४० देखि ४५० टनसम्म तरकारी आएको छ ।

समितिका प्रवक्ता विनय श्रेष्ठले मागअनुसार आपूर्ति नभएपछि भाउ बढेको बताए । विशेष गरी आलु, गोलभेँडा, स्थानीय काउली, घिउ सिमी, लौकालगायतका तरकारीको भाउ महँगिएको छ । समितिका अनुसार गत वर्ष यतिबेला प्रतिकेजी ३३ देखि ३५ रुपियाँमा पाइने गोलभेँडा अहिले बढेर ६५ देखि ७५ रुपियाँ थोकमै पुगेको छ । काउली, मूला, घिउ सिमीलगायतका तरकारी पनि गत वर्षभन्दा ३५ देखि ४५ प्रतिशतसम्म बढेको समितिले जनाएको छ । समितिका अनुसार कागती भने गत वर्ष प्रतिकेजी २६५ रुपियाँ रहेकामा यो वर्ष घटेर १५५ रुपियाँ भएको छ ।

उपभोक्ता अधिकारकर्मी भने तरकारी कम आएरभन्दा पनि व्यापारीले बहाना बनाएर महँगोमा बिक्री गर्ने गरेको दाबी गर्छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लोपटक तरकारीमा भएको मूल्य वृद्धिको मुख्य कारण बिचौलिया, व्यापारीको मनोमानी भएको दाबी गरे। अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले दशैँ आउँदै गर्दा सर्वसाधारण उपभोक्तालाई बजार भाउले निराशबाहेक केही नपारेको बताए। गोरखापत्र दैनिकमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस