घरघरमा कोरोना पुग्नबाट रोक्न के गर्ने ?

काठमाडौं । सरकारको चार महिनाको लकडाउन र एक महिनाको निषेधाज्ञालाई पूरै असफल सावित गर्दै नेपालमा तीव्र गतिमा कोरोना फैलिँदै गएको छ । पछिल्लो एक महिनायता संघीय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रका समुदायस्तरमा पुगेको कोरोनाले भयावह रुप लिन थालेको हो ।

नेपालमा मृतक संख्या विश्‍वका अन्य देशको तुलनामा कम भए पनि संक्रमितको संख्या भने आकासिँदै गएको छ । एक सातायता नेपालमा कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । देशभर दैनिक २ हजार भन्दा धेरै संक्रमित भेटिँदा काठमाडौंका तीन जिल्लामै दैनिक १५ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् ।

कति छन् सक्रिय सङ्क्रमित ?
नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ । अहिलेसम्म ५९० सङ्क्रमितको मृत्यु भएको देखिन्छ । निको हुने सङ्क्रमितको सङ्ख्या ७१,००० नाघेको छ ।

विहिबारसम्मको विवरण अनुसार देशभरि २६,६८४ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १४,९६७ जना घरमा र बाँकी ११,७१७ जना संस्थागत आइसोलेशनमा छन् । वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ । तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन् । अहिले काठमाडौं उपत्यकामा १५,५८३ सक्रिय सङ्क्रमित छन् । यो देशभरि भएका सङ्क्रमितको ५८ प्रतिशत हो ।

-काठमाडौंः १२,४४१
-ललितपुरः २,०१६
-भक्तपुरः १,१२६

फेरि होला त लकडाउन ?
स्वास्थ्य मन्त्रालयले यसअघि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० पुगे लकडाउन लगाउन सकिने सङ्केत गरेको थियो । के अब लडकाउन लाग्छ त ?  मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमले त्यसबारे अध्ययन भइरहेको र निर्णय हुन बाँकी भएको जनाए ।

‘अध्ययन गर्दैछौँ, शय्या उपलब्ध हुन्जेल हामी लकडाउन गर्दैनौँ । शय्या बढाइरहेका छौँ, अस्पताल पनि थपिरहेका छौँ,’ उनले भने, ‘के गर्ने भन्ने हामी हेर्दैछौँ हामीले निर्णय गरिसकेका छैनौँ ।’ देशभरि लकडाउन गर्ने योजना नभएको बरु कुनैकुनै जिल्लामा गर्नुपर्ने अवस्था आउन सक्ने उनको ठम्याइ छ ।

संक्रमण रोक्न के गर्ने ?
सरकारले ढिला नगरी नियन्त्रणका थप उपाय अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञहरुले बताएका छन् । ह्याम्स अस्पतालमा कार्यरत जनस्वास्थ्यविज्ञ डा. किरणराज पाण्डेले अहिले चिन्ताजनक देखिएको यो अवस्था हिउँदको अन्त्यसम्म जारी रहने सम्भावना रहेको दावी गरे ।

सङ्क्रमितको अहिलेको अवस्थाले समुदाय स्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिरहेको र नियन्त्रणका लागि जनस्वास्थ्य स्वास्थ्य सङ्कटकाल लागु गर्न ढिला भइसकेको स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारी बताउँछन् । सरकारले कोरोना घरघरमा पुग्नबाट रोक्न तत्काल जनस्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने र कोरोनाभाइरससम्बन्धी सामाजिक संहिता लागु गर्नुपर्ने उनको सुझाव छ ।

सङक्रमित व्यक्ति अहिले नै जेनेरल वार्डमा धेरै रहेको र उनीहरूको अवस्था बिग्रिएपछि आइसियूमा लैजान ठाउँ अपुग हुन थालेको उनको चिन्ता छ । उनका अनुसार मानिसको हिँडडुल धेरै हुने दशैँ, तिहार, छठजस्ता चाडबाडले पनि सङक्रमित बिरामीको सङख्या बढ्नेछ ।

सरकारले सुझाव नमानेको विज्ञको गुनासो
स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले सरकारले प्रयास गरिरहेको भए पनि पछिल्लो समय आफूहरूले दिँदै आएका सल्लाह नमानेको बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका नियम पालना नगर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरामा ल्याउने खालको व्यवस्था पनि हुनुपर्ने उनले बताए ।

‘स्याल मार्न जाँदा बाघ मार्ने हतियार हुनुपर्छ भन्ने उखान नै छ । अहिले सरकारसँग स्याल मार्नका लागि स्याल मार्ने नै हतियारमात्रै देखियो,’ डाक्टर तिवारीले भने, ‘हामीहरू अगाडि रहेर कोरोनाभाइरसलाई पछाडि राखेर नियन्त्रण गर्नुपर्नेमा स्थिति कोरोनाभाइरस हामीभन्दा अगाडि भएजस्तो देखिसक्यो ।’

यसका लागि सरकारले अहिले जस्तो प्रहरीलाई सडकमा मात्रै नभइ समुदायमै खटाउनुपर्ने उनी बताउँछन् । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रतिकार्य योजना ल्याएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस