लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

यसअघि सोमबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदा मन्त्रीहरुले असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने जानकारी दिएका थिए । तर मन्त्रिपरिषदको निर्णय सुनाउने क्रमममा मन्त्री ज्ञवालीले असोज  १ देखि  नै यातायात सञ्चालन हुने जानकारी दिएका हुन् ।

सरकारको यो निर्णयसँगै चैत ११ देखि बन्द भएका सार्वजनिक सवारी चल्नेछन् । यसको पहिलो लाभ यातायात व्यवसायीहरुले पाउनेछन् । ६ महिनासम्म सवारी बन्द गर्नुपर्दा यातायात व्यवसायीहरु मर्कामा परेका थिए ।

उनीहरुले पटक-पटक सरकारलाई लामो दूरीका सार्वजनिक सवारी खुलनाउन अनुरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएका थिए ।

असारको अन्तिम सातामा जिल्लाभित्र चल्ने सार्वजनिक सवारी खुला पनि भए । तर, संक्रमण फैलने जोखिमको कारण देखाउँदै सरकारले लामो दूरीका सार्वजनिक सवारी चलाउन अनुमाति दिएको थिएन ।

सार्वजनिक सवारी नचलेपछि यात्रुले पनि सास्ती भोग्दै आएका छन् । अहिले निजी सवारीमा लामो दूरीका यात्रा गर्नुपर्ने अवस्था छ ।

चर्को रकम तिरेर भाडाका सवारी लिएर लामो दूरीको यात्रा गर्ने क्रम बाक्लिँदै गएको अवस्थामा असोज १ देखि सार्वजनिक सवारी खुल्ने भएपछि यात्रुले पनि सुविधा पाउनेछन् । दशैं नजिकिँदै गएकाले पनि उपत्यका छाड्ने र फर्किने यात्रुले यसबट लाभ पाउने अवस्था बनेको छ ।

व्यवसायीले लामो समयदेखि सार्वजनिक सवारी खुलाउन जति माग गर्दा पनि सुनुवाई नभएको भन्दै असोज १ देखि आन्दोलनमा जाने चेतावनी दिइसकेका थिए ।

सरकारले असोज १ गतेबाटै लामो दूरीको बस सेवा पनि चल्न दिने निर्णय गरेपछि यातायात व्यवसायी खुसी छन् । जिल्लास्तरको सार्वजनिक सवारी खुलेपछि सरकारसँग विभिन्न बार्गेनिङ गरेका व्यवसायीहृरु फेरि पनि त्यही शैलीमा जाने संकेत भने देखिएको छ ।

व्यवसायीका कुरा सुन्न बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले यातायात व्यवसायीका महासंघहरुलाई छलफलमा बोलाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारको निर्णयलाई सकारात्मक रुपमा लिएको बताउँछन् ।

‘यो बारे महासंघसहित अन्य यातायात मजदुर संगठनको संयुक्त कार्यदलले भोलि आधिकारिक धारणा तय गर्छ,’ सिटौलाले भने,’त्यसपछि मात्रै यो निर्णय कार्यान्वयनबारे कसरी अघि बढ्ने भन्ने सुझावसहितको लिखित वक्तव्य जारी हुन्छ ।’

उनले सवारी खुल्नुअघि मापदण्डहरु के हुने, खाना-खाजा खुवाउने होटलहरुको व्यवस्थापन कसरी गर्ने, यात्रु, चालक र व्यवसायीको भूमिका के हुने ? भन्ने लगायतका विषय टुंगिन पर्ने बताए ।

‘सुरक्षा व्यवस्था र स्वास्थ्य सकर्ताताका सवालहरु पनि छन्, बीच बाटोमा यात्रु चढाइयो भने त्यसको अनुगमन कसरी गर्ने भन्ने लगायतका सवाल पनि सम्बोधन गरेर बस खुलाउनुपर्छ,’ उनी भन्छन्,’सबै सुरक्षित रहने वातावरण तयार गरेर अघि बढ्दा भलो हुन्छ ।’

यो बाहेक व्यवसायीहरुले चालक सहचालकको कोरोना बीमा लगायतका विषय पनि उठाउने सम्भावना छ । यसले गर्दा असोज १ गतेबाट सार्वजनिक सवारी नचल्ने जोखिम पनि छ ।

अनलाइनखबरबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस