विद्युत महसुल वापत २१ करोड सङ्कलन

नवलपुर । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत महसुल वापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।

प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत मध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४५१ युनिट विद्युत् बिक्रीबाट रु नौ करोड २४ लाख ६४ हजार आम्दानी गरेको रिजालले बताए । कार्यालयले असार महिनामा मात्रै विद्युत महसुल वापत रु दुई करोड ६५ लाख ३९ हजार ८३ सङ्कलन गरेको छ ।

गैँडाकोटमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै गैँडाकोटका नौ वडामा गरी ५३३ नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताए । प्रशाखासँग अहिले १० हजारभन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई प्रशाखाबाट स्तरोन्नति गरी शाखा बनाउने तयारी भइरहेको रिजालले बताए ।

गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत महसुल गैँडाकोटमा बुझाउनुपर्ने गरी शाखा बनाउने उनले बताए । हाल गैँडाकोटका वडा नं १० देखि १८ सम्मको विद्युत महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ । कार्यालय स्थापनादेखि अन्य पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा अभावका कारण गैँडाकोट प्रशाखालाई शाखामा स्तरोन्नति गर्न समस्या परेको रिजालको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा ३६३ ग्राहकको विद्युत लाइन काटेको छ । तीन महिनाभन्दा बढी समयको विद्युत महसुल भुक्तानी नगर्ने तथा रु पाँच हजारभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । विद्युत लाइन काटिएका ग्राहकबाट रु ४७ लाख ६० हजार बराबरको रकम उठाउन बाँकी रहेको उनले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा गैँडाकोट प्रशाखाको कार्यक्षेत्रभित्र २० जनाले विद्युत चोरेर प्रयोग गरेकाले उनीहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट रु एक लाख ५० हजार जरिवाना सङ्कलन गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस