निजी विद्यालयका अनलाइन कक्षा बन्द, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

काठमाडौं । निजी स्कुल सञ्चालकहरुले आजदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गरेका छन् । आफूहरुको माग पूरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको भन्दै उनीहरुले अनलाइन कक्ष बन्दको घोषणा गरेका हुन् ।

निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठकले अनलाइन कक्षा बन्द गर्ने, सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय पनि गरेको हो । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन र दूर शिक्षा रोक्ने जानकारी गराए ।

विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो , साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं ।’

कोभिड–१९ का कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग पनि उनीहरुको थियो ।

विद्यालयहरुको अवस्था अवगत गराउन १४ असारमा मन्त्री समक्ष संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर मागहरु सम्बोधन गर्न पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएका कारण सम्पूर्ण शिक्षण कार्यक्रम स्थगित गर्न बाध्य भएको जनाएको छ।

आम्दानी नहुँदा संस्थागत विद्यालयहरुमा कार्यरत करीब २ लाख ५० हजार शिक्षक कर्मचारीलाई वैशाख महीनादेखि तलब उपलब्ध गराउन नसकेका कारण बेतलबी घर बिदा दिन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

शिक्षक तथा कर्मचारीहरु भोकभोकै रहनुपर्ने अवस्था, विद्यालयको स्थायी प्रकृतिका खर्चहरु घरभाडा, ब्यांकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरी विद्यालयको आर्थिक अवस्था जर्जर रहेको र समस्याको समाधानार्थ नेपाल सरकारका सम्बन्धित निकायहरु समक्ष पटकपटक माग राखी निरन्तर छलफल, वार्ता संवाद गर्दा पनि कतैबाट कुनै किसिमको सहयोग प्राप्त गर्न नसकेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस