सार्वजनिक स्थानमा जाँदा कपडाकै भएपनि मास्क लगाऊ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ ।

डब्लुएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एकजनाबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ । विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो । अहिले नै कैयन् देशहरूमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन् ।

कस्तो मास्क ?
डब्लुएचओकी प्राविधिक विज्ञ डा मारिया भान कर्खोभले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै आफूहरूले आम मानिसलाई ‘कपडाको न कि मेडिकल मास्क’ लगाउन सुझाएको बताइन् ।

सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ । उसका अनुसार पछिल्लो सुझाव हालैका हप्ताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन् । “हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ,” कर्खोभले भनिन् ।

यसबीच डब्लुएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ । “मास्क मात्रैको प्रयोगले कोभिड-१९ बाट जोगाउँदैन,” डब्लुएचओका महानिर्देशक डा टेड्रस एडहानोम गेहब्रेयससले भने ।

विश्वभरिमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढेर ६७ लाख पुगेको छ भने झन्डै ४ लाख मानिसको ज्यान गएको छ ।

नयाँ सुझावको अर्थ
बीबीसीका विज्ञान सम्पादक डेभिड शुकम्यान भन्छन् डब्लुएचको पछिल्लो सुझावले उक्त संस्थामा आएको ठूलै परिवर्तनको सङ्केत गर्छ । महिनौँसम्म उसका विज्ञहरूले मास्कको प्रयोगले आम मानिस गलत ढङ्गबाट ढुक्क हुनसक्ने अनि त्यसले स्वास्थ्यकर्मीहरूका निम्ति आवश्यक मास्कको अभाव हुनसक्ने भन्दै आएका थिए ।

ती तर्क अझैपनि विद्यमान नै छन् तर डब्लुएचओले सङ्क्रमणको जोखिमबारे नयाँ प्रमाण पनि हेरिरहेको देखिन्छ । “यसले हालैको अनुसन्धानतर्फ इँगित गर्छ जसमा के उल्लेख थियो भने मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सुरुवाती दिनहरूमा अत्यन्त सङ्क्रामक हुन्छन् (अरूलाई सार्ने सवालमा) जबकि उनीहरूमा लक्षण देखिइसकेको हुँदैन,” शुकम्यानको भनाइ छ ।

सार्वजनिक सवारीसाधन वा पसल वा शरणार्थी शिविर जहाँ सामाजिक दूरी सम्भव हुँदैन त्यहाँ घरेलु मास्ककै भएपनि प्रयोग गर्न सुझाव दिइएको छ । ६० वर्षभन्दा माथि उमेरका मानिसहरू जसलाई अन्य रोग पनि छ तिनले मेडिकल स्तरकै मास्क प्रयोग गर्न उचित हुने पनि डब्लुएचओले बताएको छ । बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस