इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष नेताले दिए शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छन् ।

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उनले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड-१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गरेकी छन् ।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उनले विश्वास व्यक्त गरेकी छन् ।

सावधानी अपनाएर इद उल फित्र मनाउन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन् ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताए ।

उनले यस महान् पर्वका अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको सन्देशमा उल्लेख गरेका छन् ।

नेपालमा कोरोना भाइरसबाट तीन जनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उपराष्ट्रपति पुनले देशमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र भएकाले एक जुट भएर यसविरुद्ध लड्न र विजय प्राप्त गर्नाको विकल्प नभएको पनि सन्देशमा जनाएका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बन्दै जान विश्वास व्यक्त गर्दै उनले सरकारको प्रयासमा पूर्ण साथ दिन सबैलाई आग्रह गरेका छन् ।

समृद्ध देश निर्माणमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान
विभिन्न धर्म र संस्कृतिमा आधारित चाडपर्वहरुले हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मुस्लिम समुदायको महान चाड इदुल फितरको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक विशेषतायुक्त देश भएकोले यस्ता विशेषताहरु यहाँका मौलिक पूँजीको रुपमा रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने पनि बताएका छन् । ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा सरकार रहेको प्रष्ट पारेका छन् ।

साथै प्रधानमन्त्रीले विश्वब्यापी संकटका रुपमा कोभिड-१९ भाइरसको महामारी सामना गरिरहेको बताउँदै विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन पनि आह्वान गरेका छन् ।

अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ ।

अरवी भाषामा ईदको अर्थ खुशी र फित्रको अर्थ दान हुनजान्छ । ईद पर्वमा ईदगाह (खाली मैदान) वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी (नमाज) पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र (दान) दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भन्ने गरिएको छ ।

एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।

विविधता भित्रको एकता नै हाम्रो मौलिक विशेषता हो : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा शुमकामना व्यक्त गरको छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताएका छन् ।

सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड-१९ ले समानरूपले आक्रमण गरिरहेकाले यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै उनले भनेका छन्, ‘इदुल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।’

इदले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने देउवाको विश्वास
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् । ‘इद उल फित्र’ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस