बाजुरामा किटको अभावः परीक्षण नै नगरी होम क्वारेन्टाइनमा पठाइयो

बाजुरा । बाजुरामा आरडिटी किटको अभाव भएको छ । किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ ।

१४ दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रुपमा आरडिटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ । तर किट अभावका कारण परीक्षण नै नगरी घर पठाइएको हो ।

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइनबाट १६० जनालाई आरडिटी परीक्षण नै नगरी घर पठाइएको छ । किट नभएकै कारण बाध्य भएर सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित उनीहरुलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

उनका अनुसार अनिवार्य र्यापिड जाँच भनिए पनि निर्देशिकाको दोस्रो बुँदामा कुनै लक्षण नदेखिएको, स्वास्थ्य जाँच नियमित गरिएको र किट अभाव भएको अवस्थामा सात दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सक्ने प्रावधान रहेकाले सोही अनुरुप उनीहरुलाई घर पठाइएको छ ।

जिल्लामा किट अभावका कारण दुई सातादेखि र्यापिड जाँच रोकिएको छ । हालसम्म भारतलगायत अन्य मुलुकबाट एक हजार १६२ नागरिक जिल्ला भित्रिएका छन् । प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि एक हजार ३०० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका एक हजार १६० को आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।

किट अभावकै कारण कोरोना जाँच हुनसकेको छैन । भारतबाट आएकालाई र्यापिड जाँचबिना नै पठाइएकाले गाउँमा जोखिम बढ्ने अनुमान गरिएको छ । होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि सबै परिवारसँग अलग कोठाको व्यवस्थापन नहुने र आफन्तसँग भेटघाट गर्ने हुँदा जोखिम देखिएको छ ।

उसो त क्वारेन्टाइनमा बस्नेको नियमित जाँचसमेत चिकित्सकबाट हुनुपर्ने निर्देशिकामा उल्लेख छ, तर त्यो पनि गरिएको छैन । क्वारेन्टाइनमा बस्नेहरुलाई खानपिन र बसाइको समेत समस्या छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस