बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो ।

निगमका अपरेसन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र क्यानडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिए । ‘युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौं, अबको सातदेखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानडा पुग्छन्’, उनले भने ।

निगमको यी गन्तव्यको उडान भने व्यवसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ । यी तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सिधा उडान गर्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ ।

वाइडबडीले लण्डनबाट क्यानडा र जर्मनीको उडान भर्नेछ। निगमले सुरूमा बोइङ ७६७ जहाजमार्फत् लण्डन, पेरिस र फ्राङ्फर्ट उडान गरेको थियो । जहाज अभावलगायत कारण देखाउँदै बीचमै सेवा रोकेको थियो । निगमले वि.स. १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो। युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो ।

यसअघि निगमले आफ्नो उड्डयन इतिहासमै पहिलो पटक लामो गन्तव्यको अस्ट्रेलियाको सहर ब्रिस्बनमा चार्टर्ड उडान गरेको थियो। निगमको वाइडबडी जहाजले चैत १९ मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बनसम्मको करिब १३ घण्टाको उडान यात्रा गरेको थियो ।

अहिले कोभिड-१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिड-१९ को संक्रमण फेला परेपछि सरकारले चैत ११ देखि २५ सम्म देशभर लकडाउन गरेको छ । वैशाख ३ गतेसम्म सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । यस्तो परिस्थितिमा निगमले औषधीजन्य सामग्री ढुवानीका लागि कार्गो उडान तथा विदेशी नागरिकलाई उनीहरूको मुलुकसम्म लैजानका लागि चार्टर्ड उडान गरिरहेको छ ।

निगमले साता दिनभित्रै श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ भने अबको १० दिनभित्र युरोपमका महत्वपूर्ण गन्तव्यमा चार्टर्ड उडान गर्ने भएको हो । त्यस्तै चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान भर्ने योजना बनाइएको निगमले उल्लेख गरेको छ ।

यसअघि निगमको वाइडबडी जहाजले चैत १६ गते र शुक्रबार बिहान दुई चार्टर्ड उडानमार्फत् चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री ल्याएर फर्किएको थियो । हाल दुई वाईडबडी ए-३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस