एक लाख ९३ हजार १७७ कोरोना संक्रमित उपचारपछि घर फर्किए

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बुधबार एकै दिन चार हजार ८८३ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या एक लाख ९३ हजार भन्दा माथि पुगेको छ । आज (बिहीबार) बिहीबार बिहान ७ बजेसम्म विश्वभर एक लाख ९३ हजार १७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

कोरोना संक्रमणका कारण यति धेरै मानिसको ज्यान गएको यो पहिलो हो । हिजो एकै दिन कोरोनाका ७६ हजार ८३६ नयाँ संक्रमित थपिएका छन् । विश्वभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १९४ पुगेको छ ।

आज (बिहीबार) विहानसम्म विश्वभर संक्रमितको संख्या ९ लाख ३९ हजार ४३१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । अमेरिकामा बुधबार कोरोना संक्रमणबाट एक हजार ४९ जनाको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या दुई लाख १५ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाबाट पाँच हजार १०२ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा हिजो (बुधबार) मात्रै २६ हजार ४७३ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिका पछिल्लो समय चीनपछि कोरोनाको दोस्रो केन्द्रविन्दु बनेको छ । अमेरिकापछि बुधबार स्पेनमा धेरैले कोरोनाबाट ज्यान गुमाएका छन् ।

स्पेनमा बुधबार एकै दिन ९२३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख ४ हजार नाघेको छ । यस्तै इटालीमा बुधबार ७२७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

इटालीमा हालसम्म १३ हजार १५५ जनाको ज्यान गइसकेको छ । व्रिटेनमा बुधबार कोरोनाबाट ५६३ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म दुई हजार ३५२ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २९ हजार नाघेको छ ।

फ्रान्समा बुधबार कोरोनाबाट ५०९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या झण्डै ५७ हजार पुगेको छ ।

यसैगरी बुधबार जर्मनीमा १५६, इरानमा १३८, बेल्जियममा १२३, नेदरल्यान्डमा १३४, स्वीडेनमा ५९, ब्राजिलमा ४१, पोर्चुगलमा ४१, स्वीटजरल्यान्डमा ५५, टर्कीमा ६३ जनाको कोरोनाबाट ज्यान गएको छ ।

भारतमा भयावह बन्दै कोरोना : ५८ को मृत्यु, संक्रमित दुई हजार नजिक
यता नेपालको छिमेकी देश भारतमा पनि कोरोना भाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । भारतमा कोरोना संक्रमितको संख्या दुई हजार नजिक पुगेको छ ।

भारतमा गएको २४ घण्टामा ६०१ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको संख्या एक हजार ९९८ पुगेको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म ४१ जनाको ज्यान गएको र एक हजार ८३४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

७३ देशका नागरिकलाई जापान प्रवेशमा रोक
यता जापान सरकारले कोरोना भाइरसबाट संक्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताएका छन् । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात देश लगायत छन् । अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।

राजधानी टोकियोमा बुधबार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हो ।

जापानमा मङ्गलबार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए । स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिलेसम्म कोरोनाबाट दुई हजार १७८ जना सङ्क्रमित भएका छन् भने ५७ जनाको ज्यान गएको छ ।

गन्ध वा स्वाद थाहा नपाउने संकेत कोरोनाको लक्षण : अनुसन्धानकर्ता
गन्ध वा स्वाद थाहा नपाउने संकेत पनि कोरोना भाइरस संक्रमणको लक्षण हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

बेलायतको लण्डनमा रहेको द किङ्स कलेजको एउटा समूहले ४ लाखभन्दा धेरै मानिसमा गरेको अध्ययनले यस्तो देखाएको बीबीसीले जनाएको छ । अध्ययनले गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकी जस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमण पनि कोरोनाको लक्षण भएको देखाएको छ । विज्ञहरूले सबैभन्दा धेरै ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस