क्वारेन्टाइनबाट धमाधम भाग्दै, घर फर्केको सूचना दिनेलाई नगद

काठमाडौं । भारतबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएकाहरू धमाधम भाग्न थालेका छन् । बसिरहेकाहरूले पनि घर जान दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै कतिपय ठाउँमा स्थानीय बासिन्दाले स्वास्थ्यकर्मीमाथि नै कुटपिट समेत गरेका छन् । उच्च ज्वरो आएका बिरामीको उपचारका लागि आइसोलेसन वार्डमा जानुअघि तयारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका एक स्वास्थ्यकर्मी ।

बैतडीको पाटन नगरपालिका–९ को विद्यालयमा राखिएका सात जना क्वारेन्टाइनबाट बुधबार एकैसाथ भागेका छन् । एक्लै भएको मौका छोपेर भागेका उनीहरूलाई सम्पर्कमा ल्याउन गाह्रो भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । सुर्नया गाउँपालिकाको एक विद्यालयमा राखिएका एक जना पनि बिहीबार बिहानै भागेका छन् । अन्य पालिकाले भने कसैलाई पनि क्वारेन्टाइनमा राखेका छैनन् ।

पुरचौडी नगरपालिका–५, कुवाकोटस्थित भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा ड्युटी खटिएका स्वास्थ्य चौकीका अहेव करनसिंह धामी बुधबार राति कुटिएका छन् ।
क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले उनीमाथि कुटपिट गरेका हुन् । बुधबारै भारतबाट फर्केका सात जनालाई विद्यालयमा राखिएको थियो ।

जागरीले राति कोठाभित्र जबर्जस्ती पसेर गाली गर्दै धामीलाई कुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी डिल्लीनारायण पाण्डेयले बताए । जागरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्यकर्मीलाई सामान्य चोट लागेको उनले जनाए । नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यकर्मी कुट्नेमाथि कारबाही माग गरेको छ ।

करिब तीन सातादेखि बिहीबारसम्म बैतडीको प्रमुख नाका झुलाघाटसँगै तल्लो स्वराड क्षेत्रको पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका विभिन्न घाटमा डुंगा र ट्युब तरेर घर फर्कनेको संख्या २ हजार ५ सय १४ पुगेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर किसन चन्दले बताए । नाका बन्द भएपछि सोमबारयता ३५७ जना जिल्ला प्रवेश गरेका छन् ।

स्वास्थ्य कार्यालय र प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका १० वटै पालिकाले क्वारेन्टाइनको व्यवस्था गरेका छन् । दशरथचन्द नगरपालिकाले ९ जनालाई क्वारेन्टाइनमा राखेको छ । बुधबारसम्म दुई दर्जनभन्दा बढीलाई राखिएकोमा बिहीबार सम्बन्धित पालिकाको जिम्मा लगाएको स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।

यस्तै सिगास गाउँपालिकाले बिहीबार एक जनालाई क्वारेन्टाइनमा राखेको छ । पाटन नगरमा चार, सुर्नया गाउँपालिकामा १५, पञ्चेश्वरमा तीन, शिवनाथमा दुई र पुर्चौडी नगरमा सात जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

त्यसैगरी भारतसँग सीमा जोडिएको डडेलधुराको परशुराम नगरपालिकाले लालढुंगा बजारनजिक त्रिवेणी बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएका ४५ जनाले १२ घण्टा नबित्दै घर जान पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका छन् ।

उनीहरू तोडफोडमा उत्रिएपछि सम्बन्धित वडाका वडाध्यक्षको जिम्मा लगाएर घर फर्काइएको छ । स्वास्थ्यकर्मीले सबैको सामान्य जाँच गरेर घर पठाएका हुन् । कसैमा पनि उच्च ज्वरो नदेखिएकाले जान दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गन्यापधुरा गाउँपालिका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा अहिलेसम्म एक जनाले पनि बस्न मानेका छैनन् । भारतबाट फर्किएका कसैले बस्न नमानेपछि क्वारेन्टाइन खाली छन् । गाउँपालिकाका अध्यक्ष नवल मल्लका अनुसार भारतबाट आएकाहरूको घरमै पुगेर आग्रह गर्दा पनि बस्न मानेका छैनन् ।

अजयमेरु गाउँपालिकाले गाउँबाट खोजेर क्वारेन्टाइनमा राख्ने प्रयास जारी राखेको जनाएको छ । सम्झाएर नमान्नेलाई प्रहरी लगाएर जबर्जस्ती क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको छ । गाउँपालिका छिर्ने चारवटै नाकामा हेल्थ डेस्क स्थापना गरेको छ ।

प्रयास गर्दागर्दै पनि धेरैजसोले क्वारेन्टाइनमा बस्न नमान्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । परशुराम नगरपालिकाले क्वारेन्टाइनमा राखेका ४४ जनालाई घर पठाएको छ । अमरगढी नगरपालिकाले पनि ३० जनालाई घर पठाएको छ ।

महाकाली नदी तरेर घर फर्किएकाका विषयमा भने स्थानीय तहलाई जानकारी नै छैन । भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकाका विभिन्न वडामा सीमाबाट अवैध रूपमा भित्रिएका धेरै सर्वसाधारणले अहिलेसम्म सामान्य जाँच समेत गराएका छैनन् ।

भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा बस्न नमान्ने समस्या सबै ठाउँमा छ । ‘स्थानीय तहले खाना, बस्न र सबैखाले सुविधा उपलब्ध गराउँदा पनि क्वारेन्टाइनमा बस्नभन्दा भागेर घर जान थालेका छन्,’ भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी मदनराज भट्टले भने ।

चिकित्सकहरूले यस्तो गुनासो गरे पनि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबै स्थानीय तहसँग समन्वय गरी आवश्यक तयारी भइरहेको बताउँछन् । ‘चैत २ मै जिल्ला स्तरको बैठकले १८ बुँदे कार्ययोजना बनाएर आवश्यक तयारी भइरहेको छ,’ पन्तले भने, ‘स्थानीय तहमा रहेका स्वास्थ्य संस्थासँग निरन्तर समन्वय भएको छ भने हरेक दिन हरेक स्थानीय तहबाट आवश्यक रिपोर्ट आइरहेको छ ।’ कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस