‘लकडाउन’ के हो ? ‘लकडाउन’ उल्लघंन गरे कस्तो कारवाही हुन्छ ?

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालले पनि देशभर ‘लकडाउन’ गरेको छ । संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेपछि यतिबेला नेपाल सुनसान जस्तै छ ।

के हो त ‘लकडाउन’ ? 

‘लकडाउन’ नेपालीका लागि नयाँ शब्द हो । यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन । संघीय सरकारले मंगलबार बिहानैदेखि ‘लकडाउन’ घोषणा गरेको थियो ।

सरकारले एक्कासी गरेको लकडाउनका बारेमा कतिपय सरकारी अधिकारीहरु पनि ‘लकडाउन’मा के हुन्छ भन्न सक्ने अवस्थामा छैनन् ।

“हामीले कसरी भन्नु, यो नेपालका लागि नयाँ विषय हो,” गृह मन्त्रालयको तयारीका सम्बन्धमा राखिएको जिज्ञासामा गृहका एक उच्च अधिकारीले भने, “‘लकडाउन’ मा के गर्ने के नगर्ने भन्ने विषयको खाका स्वास्थ्य मन्त्रालय या उच्चस्तरीय समितिले नै गर्ला ।”

जानकारहरुका अनुसार यो कानुनी भन्दा पनि जनताकै हितमा सरकारले लिएको निर्णय हो । जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नहोस् भन्नका लागि नै ‘लकडाउन’ गरिएको हो ।

के हुन्छ त ?

सरकारले लकडाउनका बारेमा ८ बुँदामा यस्तो भनेको छ

१–औषधि उपचार, खाद्य वस्तु, खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने

२–अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाउने

३–सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४–स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापनजस्ता अति आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने

५–औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन, उत्पादन गर्नेबाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने

६–व्यवसायीले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपुर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने

७–संक्रामक रोग ऐन, २०२ को दफा २ को उपदफा २ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सो का लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकताअनुसार प्रयोग गर्ने

८–संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने

के हुन्छ कारवाही ?

“नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजेदेखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लागु गरी देहाय बमोजिमको आदेश जारी गरेको छ,” निर्णयमा भनिएको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ मा भनिएको छ–नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मुल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन्न सक्नेछ ।”

सजायमा भनिएको छ, “यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु एक सय सम्म जरिबाना वा दुवै हुन सक्छ ।”

त्यस्तै अर्को दफामा भनिएको छ– यो ऐन अन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस