त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरोना भित्रिन नदिन के गर्दैछ सरकार ?

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ८० देशमा फैलिएपछि यतिबेला नेपालमा पनि कोरोना संक्रमणको त्रास बढेको छ । संक्रमित देश र अन्य देशबाट नेपाल आउने व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम जाँच गर्ने व्यवस्था गरिएको छ ।

तर विमानस्थलमा स्वास्थ्य जाँच व्यवस्थित नभएको गुनासो सुनिएको छ । यात्रुको जाँच र शंका लागेका व्यक्तिको परीक्षण प्रणालीमाथि नै प्रश्न उठिरहेको छ । यता सरकारले भने  कोरोना भाइरसको संक्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले विभिन्न तीन वटा समिति निर्माण गरी संक्रमण भित्रिन नदिन आवश्यक तयारी भइरहेको बताए ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमित नरहेका कारण विदेशबाट आउनेहरुमार्फत संक्रमण नभित्रियोस् भनेर चनाखो रहनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समयमा चिकित्सकसहित ६-७ जनाको टोलीले विदेशबाट आउने यात्रुहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्ने र शंकास्पदलाई स्वास्थ्योपचारका लागि पठाउनेसहितको व्यवस्था गरिएको उनको भनाइ छ । यस्तै रातिको समयमा पनि विमानस्थलमा कम्तीमा ४ जनाको टोली रहने उनले बताए ।उनले छिमेकी मुलुक भारतबाट विभिन्न १३ वटा औषधी नेपाल पठाउन रोक लगाइएको बारे सरकारको ध्यानाकर्षण भएको जानकारी दिँदै ती औषधीको पर्याप्त ‘स्टक’ रहेकाले तत्काल कुनै प्रकारको फरक नपर्ने बताए । दीर्घकालिन रुपमा सरकारले उक्त समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गर्ने र औषधी आयातको अवस्थालाई सामान्य तुल्याइने उनको भनाइ छ ।

यसअघि सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पनि नेपालमा कोरोना संक्रमित नपाइएका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताए । यद्यपि सरकारले संक्रमण भित्रिन नदिन प्रभावकारी ढङ्गले काम गरिरहेको जानकारी दिँदै उनले स्थलमार्गबाट आउने यात्रुमार्फत पनि संक्रमण फैलन सक्ने भएकाले विभिन्न ३७ वटा नाकामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब घरको डाक्टरले दिनेछन् घर निर्माण लागत घटाउने परामर्श

काठमाडौं । घर तथा बिल्डीङ्ग निमार्ण सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत छ वर्ष …

प्रतिकृया दिनुहॊस