देशभर मौसम बदली, मेघ गर्जनसहित वर्षा

काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । देशको पश्चिम भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरकै मौसममा सामान्य बदलीको अवस्था रहेको जनाइएको हो ।

काठमाडौंमा पनि वर्षा

यो प्रणालीको पूर्ण प्रभाव शनिबारसम्मै रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

‘अहिले पश्चिमी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको छ’–उनले शुक्रबार बिहान इमेजखबरसित भनिन्–‘काठमाडौंमा पनि आज अपराह्नपछि हल्का वर्षाको सम्भावना देखिन्छ ।’

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मध्यक्षेत्र हुँदै विस्तारै पूर्वतिर पनि सरिरहेको उनले बताइन् ।

‘आइतबार पनि मौसम बदली रहने देखिन्छ । तर, आइतबार वर्षाको सम्भावना अहिलेसम्मको स्थितिमा देखिएको छैन’–मौसमविद् मानन्धरले भनिन् ।

शुक्रबार दिउँसो

मौसम पूर्वानुमान महाशाखाकाअनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

शुक्रबार राति

शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।

पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

शनिबार दिउँसो

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति

शनिबार राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

आइतबार

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस