‘बिग बोस १३’ को १४० दिनको यात्रा समाप्त, सिद्धार्थ शुक्ला बने बिजेता

काठमाडौँ । टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि हात पारेका छन् । सिद्धार्थ शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् । करिब साढे चार महिनासम्म चलेको यो चर्चित तथा विवादित रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए । सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा ।

ग्रान्ड फिनालेमा सबैभन्दा पहिले पारस छाबडा बाहिरिए । उनले १० लाख भारु लिएर बिजेताको प्रतिस्पर्धाबाट आफूलाई अलग्गयाए । त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल उक्त रेसबाट बाहिरिए । फाइनलमा यो शोको सबैभन्दा चर्चित जोडी सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा चलेको थियो ।

यी दुईको सुरुमा दोस्ती र पछि दुश्मनीका कारण शो निकै चर्चित र विवादित भएको थियो । यी दुईले उक्त कार्यक्रममा थुप्रै पटक झगडा र हात हालाहाल पनि गरे । अन्त्यमा सिद्धार्थ शुक्लाले सबैलाई पछि पार्दैै कार्यक्रमको उपाधि जिते ।

यो सिजनको सुरुवात सन् २०१९ को सेप्टेम्बर २९ तारिखमा सुरु भएको थियो जसको फिनाले जनवरीमा प्रस्तावित थियो । यद्यपि, सिजनको बढ्दो लोकप्रियता हेर्दै यसलाई पाँच हप्ताका लागि बढाइएको थियो । १५ फेब्रुअरीमा ग्रान्ड फिनालेको दिनसम्म यो सिजन १ सय ४० दिनसम्म चल्यो जसका कारण यो ‘बिग बोस’ को इतिहासको सबैभन्दा लामो सिजन बन्यो । यसअघि ८ औं सिजनलाई २८ दिनका लागि (हल्लाबोल नाममार्फत्) बढाइएको थियो । ग्रान्ड फिनालेसम्म यसले १ सय ३५ दिन पूरा गरेको थियो ।

पछिल्लो १२ सिजनका तुलनामा यसपटक प्रतिस्पर्धीको संख्या सबैभन्दा धेरै रह्यो । पहिलो दिन प्रवेश भएका हाउसमेट्स र वाइल्ड कार्ड इन्ट्रि मिलाएर जम्मा २२ प्रतिस्पर्धी यो सिजनमा समावेश भए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस