सरकारको दुई वर्ष : आक्रामक योजना, फितलो कार्यान्वयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारले दुई वर्ष पूरा गरेको छ । संघीयता कार्यान्वयनको चुनौती सामना गर्दै महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको सरकारले जनआकांक्षा अनुरूप परिणाममुखी काम भने गर्न सकेको छैन ।

प्रधानमन्त्री केपी ओलीले दुई छिमेकी देशसँग रेलमार्गबाट जोडिनेदेखि ध्वजाबाहक पानीजहाज समुद्रमा कुदाउनेसम्मका महत्वाकांक्षी नारा अगाडि सार्दै कार्यकालको सुरुवाती दिनमा निकै चर्चा बटुले । तर, दुई वर्ष सकिँदासम्म उनका आकर्षक योजनाले अपेक्षाकृत आकारसमेत लिन सकेका छैनन् । पानीजहाजको सपना कार्यालयमै कैद छ । रेलको उपलब्धि सुस्त गतिमा छ । अरू धेरै मुद्दामा पनि सरकारको प्रस्तुति कमजोर देखिएको छ । सरकार गठन भएलगत्तै सुरु भएका कतिपय राम्रा कामले पनि निरन्तरता पाउन सकेका छैनन् ।

श्रमिकको हितमा सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमले पनि अपेक्षाकृत गति लिन सकेको छैन । त्यस्तै, बेरोजगारलाई न्यूनतम रोजगारी दिने उद्देश्यसहित सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि दुरुपयोग भएको गुनासो जनस्तरबाटै आयो । गत वर्ष यो कार्यक्रमका लागि स्थानीय तहमार्फत खर्च गर्ने गरी दुई अर्ब ३६ करोड विनियोजन गरिएको थियो ।

संघीयता कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, कनेक्टिभिटी, वैदेशिक सम्बन्धमा सुधार, आर्थिक वृद्धि, सूचना प्रविधि क्षेत्रको तीव्र विकास, निर्यातमा सुधारलगायत थुप्रै उल्लेखनीय काम भएको सरकारको दाबी छ । तर, ‘समृद्ध नेपाल : सुखी नेपाली’को मूल नारासहित देशलाई त्यसतर्फ अघि बढाउने प्रतिबद्धतासहित अघि बढेको सरकारका प्राथमिकता क्षेत्र र महत्वपूर्ण आयोजनाको कार्यसम्पादन भने समग्रमा निराशाजनक छ । राष्ट्रिय गौरवका आयोजनाको प्रगति, विकास खर्च, रोजगारी अभिवृद्धि, लगानी, व्यापार र रोजगारी अभिवृद्धिको क्षेत्र निराशाजनक छ ।

‘गेयर’ बदलेर सरकारको कामलाई गतिशील र प्रभावकारी बनाउने प्रधानमन्त्री केपी ओलीको निरन्तरको प्रयत्नपछि पनि समग्रमा उत्साहजनक परिणाम देखिएको छैन । अपेक्षाकृत नतिजा नदेखाएको दोष देखाएर प्रधानमन्त्रीले सरकारको ‘गियर’ बदल्न भन्दै पछिल्लोपटक एकैचोटि ६ मन्त्री फेरबदल पनि गरे । तर, मन्त्रीमा नयाँ अनुहार आए पनि सरकारको काममा ताजगी आएको छैन । गति उस्तै सुस्त छ । जनअपेक्षाअनुसार काम नहुनुमा प्रधानमन्त्री स्वयंको नियतमाथि समेत प्रश्न उठ्ने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस