इलाममा एउटै खोलामा दसवटा जलविद्युत् आयोजना

इलाम । इलाममा  एउटै मात्र माईखोलामा कुल दसवटा जलविद्युत् आयोजना निर्माण हुँदैछन् । यसमा यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ ।
पछिल्लो पटक इलाम नगरपालिका र सोयाङबीच पर्ने बीसहातेमा माईखोला हाइड्रो पावरको तीन मेगावाटको सुपरमाई क्यासकेट र ९ दशमलव ८ मेगावाटको माइबेनी हाइड्रोपावरको निर्माण भइहेको छ

। यस्तै सुम्बेक र प्याङबीच पर्ने सोमबारे बेँसी छेउमा पनि ९ दशमलव ६ मेगावाटको सगरमाथा जलविद्युत् कम्पनीको सुपरमाइ–ए हाइड्रो पावरको काम भइरहेको छ ।
यसअघि माईखोलामा सुलुबुङ–माइमझुवा–माबु बीचमा १२ मेगावाटको अपरमाइ हाइड्रो पावर र त्यसकै छ मेगावाटको क्यासकेट सञ्चालनमा छन् । बरबोटे र सोयाङबीच माईखोलाको दूधाङबेँसीमा ७ दशमलव ८ मेगावाटको सुपरमाइ हाइड्रोले गत वर्षदेखि उत्पादन सुरु गरेको छ ।

माईखोलाकै राजदुवाली नजिक हिमाल दोलखा जलविद्युत् आयोजना ७ दशमलव ५ मेगावाट र चिसापानीमा २२ मेगावाटको सानिमा माई हाइड्रो पावर तथा त्यसको आठ मेगावाटको क्यासकेट सञ्चालनमा छन् । राजदुवालीमाथि मेची राजमार्गको सिलपुरबाट माइबेनी शिवालय हुँदै निर्माणाधीन माइबेनी हाइड्रो पावरबाट खोलैखोला कच्ची सडकसमेत विस्तार भएको छ । यहाँबाट सुरु भएको मोटरेवल सडक अपरमाई हाइड्रो भएर जिल्लाको उत्तरी क्षेत्र जमुनासम्म जोडिएको छ ।
अपरमाईले प्रयोग गरेको पानीबाट निर्माणाधीन माईबेनी, सुपरमाई, सुपरमाई क्यासकेट र सगरमाथा चारवटै हाइड्रो सञ्चालन हुने माईबेनी हाइड्रो पावरका आयोजना प्रबन्धक राजेन्द्रराज भारतीले बताउनुभयो ।

अहिले त यहाँ सडक सञ्जाल पनि जोडिएको छ, माईबेनीबाट पसेर अपरमाईसम्मको निरीक्षण अवलोकन गर्न सकिन्छ, भारतीले भन्नुभयो, यो क्षेत्रलाई विद्युत् कोरिडोरका रूपमा विकास गर्न सकिन्छ ।

भारतीका अनुसार माईबेनीको काम तीव्र गतिमा हँुदैछ । आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भएको छ । एक हजार ७८ मिटरको एउटा सुरुङको अब २२ मिटर मात्र सुरुङ खोल्न बाँकी छ । दोस्रो सुरुङको १४ मिटरमा अब आठ सय मिटर खन्न बाँकी छ । यो पनि बढीमा दस दिनभित्र काम सम्पन्न हुने जनाइएको छ । पावर हाउसको काम पनि सकिएको भारतीले जानकारी दिनुभयो । ०७७ भदौबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजनाको एक अर्ब ८६ करोडको लगानी रहेको छ ।

माईबेनीको गत असारबाट मात्र काम सुरु भएको थियो । सोमबारे बेँसी नजिक माईखोलामै निर्माणाधीन सुपरमाई–ए आयोजनाको काम पनि धमाधम छ । आगामी वैशाखसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको हेडबक्स र पावरहाउस निर्माणको काम सकिएको आयोजना प्रबन्धक सन्तोष कार्कीले जानकारी दिनुभयो ।

वैशाखबाट व्यावसायिक उत्पादन सुरु हुन्छ, कार्कीले भन्नुभयो, अब तीन हजार सात सय मिटर हेडरेस पाइपमध्ये नौ सय १८ मिटर जडान गर्न बाँकी छ । गत वर्ष माघबाटै निर्माण सुरु गरिएको यो आयोजनाको ८० प्रतिशत काम सकिएको जनाइएको छ ।

एक अर्ब ७९ करोड रुपियाँ लागतमा निर्माण हुँदै गरेको आयोजनाका लागि ट्रान्समिसन लाइनको अब तीन किलोमिटर काम मात्रै बाँकी रहेको प्रबन्धक कार्कीले जानकारी दिनुभयो । सुपरमाईको क्यासकेटको पनि काम धमाधम भइरहेको छ ।

गोरखापत्रबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस