आज सरस्वती पुजाः विद्यालय नगएका बालबालिकालाई अक्षरारम्भ गराइदै

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदै छ । विद्याकि देवी सरस्वतीकाे पुजा विशेष गरि विद्यार्थी तथा बालबालिका तथा शिक्षाका क्षेत्रमा काम गर्नेहरूले गर्दछन् । स्कुल, कलेज तथा विश्वविद्यालय र इन्ष्टिच्युटहरूमा देवी सरस्वतीकाे धुमधामका साथ पुजा हुन्छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भका सँगै नाक–कान छेडिदिने परम्परा पनि गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । सुनसरीकाे धरान स्थित पिण्डेश्वर मन्दिर परिसरकाे सरस्वती कुण्डमा विशेष पुजा आराधना हुने गरेकाे छ ।

यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ ।

सरस्वतीकाे आराधना गर्ने मन्त्र

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।

या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।१।।

नेपालीमा यसको अर्थ “जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हारको जस्तो श्वेत वर्णको हुनुहुन्छ र जो श्वेत वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शंकर शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुन उनै सम्पूर्ण जडता र अज्ञानतालाई दूर गर्नेबाली माता सरस्वती हाम्रो रक्षा गर्नुहोला ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस