अब स्वरोजगारले समेत नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने

काठमाडौं । स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भई कार्यान्वयनमा आएपछि त्यस्तो व्यवस्था लागू हुने भएको छ ।

त्यस्तो व्यवस्था लागू भएपछि इञ्जिनीयर, चिकित्सक, कानून व्यवसायी, लेखापरीक्षकलगायतका पेशा व्यवसाय गर्ने व्यक्ति वा उनीहरुसँग आबद्ध रहेका अस्थायी वा सेवा करारमा रहेका व्यक्ति तथा अन्य व्यवसाय, रोजगारीबाट आयआर्जन गर्ने तथा वैदेशिक रोजगारीमा संलग्नलाई समेत कोषमा रकम जम्मा गर्न पाउने छन् । विद्यमान व्यवस्थामा स्वरोजगार व्यक्तिले कोषमा रकम जम्मा गर्न पाउने व्यवस्था थिएन । सरकारी वा निजी व्यावसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारीले मात्र कोषमा कोष कट्टी गर्दै आएका छन् । नयाँ व्यवस्थापछि कोषमा स्वरोजगार व्यक्तिले समेत सहजै रकम जम्मा गर्न पाउने छन् ।

नागरिकको सामाजिक सुरक्षाको हकलाई सुरक्षित गर्न तथा निजी क्षेत्रका स्वरोजगारमा रहेका व्यक्तिलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन त्यस्तो व्यवस्था गर्न लागिएको हो । विशेषगरी वैदेशिक रोजगारीमा गएका युवाले पठाउने विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको र त्यसले आर्थिक वृद्धिमा कुनै योगदान नगरेको विवरण सार्वजनिक भइरहेको बेला कोषमा रकम जम्मा गर्न पाउने व्यवस्था हुन लागेको हो । यसले कोषको कोष अभिवृद्धि गर्न तथा आर्थिक विकासका लागि समेत मार्गप्रशस्त गर्ने छ । व्यक्तिगत रुपमा समेत कोषमा रकम जम्मा गर्न पाउने व्यवस्थाले नागरिकलाई नै थप सुविधा दिनेछ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ विषयक अध्ययनमा समेत विप्रेषणको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उल्लेख छ । नागरिक लगानी कोषमा वैदेशिक रोजगारीमा जाने व्यक्तिले समेत पैसा जम्मा गर्न पाउने व्यवस्थाले विप्रेषण आयलाई आर्थिक विकासमा लगाउनसमेत मद्दत पुग्ने देखिन्छ । सरकारले प्रस्तुत गरेको ‘नागरिक लगानीकोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि बहस जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस